• २१ वैशाख २०८१, शुक्रबार

'सुशासन र समृद्धिका लागि स्वास्थ्यका कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक छ'

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

ललितपुर, चैत २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार ललितपुरमा आयोजित आठौं स्वास्थ्य बीमा वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गरा  सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावाकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले वास्थ्य बीमा ऐनको प्रावधान अनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारीलगायत जनप्रतिनिधिहरुको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

स्वास्थ्य बीमामा आकर्षण बढाउन बीमितले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बीमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौती रहेको उहाँको भनाइ छ । स्वास्थ्य बीमालाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोधभर्ना प्रविधिमैत्री बिमा प्रणाली जस्ता व्यवस्था र प्रावधानहरु चुनौती लक्षित सुधारका योजनाहरु रहेको बताउनुभयो ।

"नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने हाम्रो संवैधानिक व्यवस्था पनि छ, त्यो प्रक्रिया अघि बढेको पनि छ । विशेषज्ञ स्वास्थ्य सेवा स्वास्थ्य बीमा कार्यक्रममार्फत् उपलब्ध हुँदै आएको छ । भौगोलिक हिसाबले पूर्णतातर्फ उन्मुख भए पनि हालसम्म यस कार्यक्रममा करिब २६ प्रतिशत जनसङ्ख्या आबद्ध छ," उहाँले भन्नुभयो , "स्वास्थ्य बीमाको नवीकरण गर्ने दर दुई तिहाई देखिन्छ । स्वास्थ्य बीमा ऐनको प्रावधान अनुसार पनि औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारीलगायत जनप्रतिनिधिको आम्दानीअनुसारको स्वास्थ्य बीमा अनिवार्य गर्न आवश्यक छ ।"

सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमहरुलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसहरुमा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने जस्ता महत्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

उहाँले सरकार बीमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बीमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिबद्ध रहेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा विकास गर्न सक्ने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निषकर्षमा पुग्ने उहाँको भनाइ छ ।