• २४ वैशाख २०८१, सोमबार

महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनेबारे सम्मेलन

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २४ गते । महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन नेपालमा स्त्रीरोग विशेषज्ञ जुटेका छन् । ‘स्त्रीरोग विशेषज्ञ समाज’को १७ औँ राष्ट्रिय सम्मेलनमा नेपालसहित विदेशका करिब पाँच सय चिकित्सक सहभागी भई नेपालका महिलाको स्वास्थ्य सेवा गुणस्तर बनाउन जुटेका हुन् ।

सम्मेलनमा विदेशबाट आएका चिकित्सकले नेपालका महिलाको स्वास्थ्यका क्षेत्रमा कसरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ भन्ने सीप सिकाउने समाजका अध्यक्ष डा. सरोजा कार्की पाण्डेले बताउनुभयो । कार्यक्रममा सांसद डा.चन्द्रा कार्कीले सम्मेलनले महिलाको स्वास्थ्यको क्षेत्रमा गरिएका अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा महिलालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेबारे ज्ञान पुग्ने बताउनुभयो । 

उहाँले सम्मेलनमा महिलाको स्वास्थ्य उपचारका लागि अपनाइने नयाँ नयाँ प्रविधिका बारेमा छलफल हुने भन्दै ती प्रविधि नेपालमा भित्र्याउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सङ्गीता कौशल मिश्रले समाजले महिलाको स्वास्थ्य क्षेत्रमा गरेका कामको सराहना गर्नुभयो । समाजले यस क्षेत्रमा उपलब्धि हासिल गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

डा.मिश्रले महिलाको स्वास्थ्यको तथ्याङ्कले नेपालले केही प्रगति गरे पनि अझै गर्नुपर्ने भन्दै सरकारले महिलाको स्वास्थ्यलाई प्राथमिकता राखेको बताउनुभयो । उहाँले गरिबी, विपन्न वर्गसम्म महिला स्वास्थ्यको पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो । समाजका पूर्वअध्यक्ष डा.लक्ष्मी नानी श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि महिलाको स्वास्थ्यमा सुधारमा आउनुपर्ने बताउनुभयो । सम्मेलनमा विदेशी चिकित्सकले नेपालमा महिलाका स्वास्थ्यमा गरेका अध्ययन अनुसन्धानबारे पनि छलफल गरिने छ । 

समाजका अध्यक्ष डा.पाण्डेले नेपालको महिलाको स्वास्थ्यमा सुधार आए पनि अझै सुधार गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपालमा एक लाख जीवित जन्ममा सन् १९९६ मा ६ सय ३९ मातृ मृत्युदर रहेकामा सन् २०२२ मा उक्त दर घटेर एक सय ५१ मा झरेको छ । “अझै पनि महिलाको स्वास्थ्यमा गुणस्तरीय सेवा पुर्‍याउन सकिएको छैन”, डा.पाण्डेले भन्नुभयो, “हामीले सिकेका तालिम फरक हुन्छन् । नयाँ र आधुनिक तालिम सबै चिकित्सकले प्राप्त गर्न सकेका छैनन् ।” 

उहाँले चिकित्सक बिदेसिएकाले पनि अहिले भइरहेका चिकित्सक र बिरामीको अनुपातमा धेरै फरक देखिएको भन्दै गुणस्तरीय स्वास्थ्य प्रदान गर्न समस्या भइरहेको बताउनुभयो । समाजका अध्यक्ष डा.पाण्डेका अनुसार सम्मेलनमा महिला स्वास्थ्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ भने वरिष्ठ चिकित्सकले कनिष्ठ चिकित्सकलाई आफूले जानेको कुरा सिकाउने छन् । आजसम्म सञ्चालन हुने उक्त सम्मेलनमा भारत, श्रीलङ्का, बङ्गलादेश, अमेरिका, अष्ट्रेलियालगायत देशका स्त्री रोग विशेषज्ञको सहभागिता छ । सम्मेलनले सरकारले महिला स्वास्थ्यका क्षेत्रमा गर्नुपर्ने कामबारे सुझाव दिनेछ । रासस