• १३ जेठ २०८१, आइतबार

यु–१६ साइकल दौडमा आयुस प्रथम

blog

विजेता आयुस दासलाइ पुरस्कार प्रदान गरिर्दै । तस्बिर : गोरखापत्र

अनिल पराजुली

हेटौँडा, चैत २४ गते । हेटौँडामा पहिलो पटक आयोजित १६ वर्ष मुनिको साइकल प्रतियोगितामा आयुस दास प्रथम हुनुभएको छ । २६ जनालाई पछि पार्दै प्रथम हुनुभएका दासले पौने तीन किलोमिटरको दुरी पाँच मिनेट २७ सेकेन्डमा पार गर्नुभएको थियो । 

हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा शनिबार  बिहान हेटौँडा–४ हुप्रचौर परिसरमा भएको प्रतियोगितामा पाँच मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै अनमोल दास द्वितीय, पाँच मिनेट ४७ सेकेन्डमा रिजन फुयाँल तृतीय हुनुभयो ।

त्यस्तै प्रतियोगितामा पाँच मिनेट ४८ सेकेन्डमा दुरी पार गर्दै वरुण श्रेष्ठ चौथो, पाँच मिनेट ४९ सेकेन्डमा सोहन अग्रवाल पाँचौँ हुनुभयो । प्रतियोगितामा साईष्टु घिमिरे र गरिमा गौतमलाई महिला सहभागिताका लागि प्रमाण पत्र प्रदान गर्दै हौसला प्रदान गरिएको थियो । 

प्रतियोगिताका विजेता प्रथमले पाँच हजार रुपियाँ, दोस्रोले तीन हजार रुपियाँ र तेस्रोले दुई हजार रुपियाँ पुरस्कार पाउनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेले विजयीलाई पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो । 

प्रतियोगितामा मकवानपुरभित्र स्थायी बसोबास गर्ने, १० वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिका सहभागी भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुर उपाध्यक्ष राजु थापाले जानकारी  दिनुभयो । स्वास्थ्य र पर्यावरणका लागि साइकल प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सोसाइटीले संयोजन गरेर रसुवागढी (तिब्बतको केरुङ नाका) देखि पर्साको ठोरी नाकासम्म १० जनाले उत्तरदक्षिण साइकलयात्रा, १३ जनाको सहभागितामा मेची–महाकाली साइकलयात्रा सम्पन्न गरिसकेको छ ।