• ११ मंसिर २०८१, मङ्गलबार

जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सुमधुर सम्बन्ध हुनुपर्छ : उपसभापति खड्का

blog

स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, चैत २४ गते  ।
 नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबिच सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभएको छ । उहाँले पार्टीको चुनाव चिह्न लिएर निर्वाचित भएका जनप्रतिनिधिलेनै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको बताउँदै विधानमा व्यवस्था भए अनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबिच नियमित मासिक बैठक बस्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।

जित्नका लागि पार्टीको टिकट चाहिने, जिताउन सिङ्गो पार्टीपंक्ति चाहिने, कार्यकर्ताले निर्वाचन अवधिभर पसिना बगाउनुपर्ने उहाँले बताउनुभयो । शनिबार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भन्नुभयो, ‘निर्वाचित भइसकेपछि पार्टी, पार्टीपंक्ति र कार्यकर्तालाई भुल्ने परिपाटीको अन्त्य हुन जरुरी छ ।’

उपसभापति खड्काले पार्टी विधानले व्यवस्था गरे अनुसार नियमित बैठकहरू बसेर जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबिच छलफल भएर गरिएका निर्णयमा पार्टीको पनि अपनत्व उहाँको भनाइ थियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले निर्वाचनका बेला कांग्रेसको चुनाव चिह्न बोकेर मत माग्न जाँदा जनतासँग गरिएका बाचाहरू पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा मतदातासँग मत माग्न जाँदा हामीले जे–जे कुराहरू बोलेका थियौँ, ती सबै कुरा पाँच वर्षभित्र पूरा गरेर छोड्छौँ ।