• ८ फागुन २०८१, बिहिबार

भैरवको मूर्ति अनावरण

blog

भैरवको मूर्ति अनावरण गर्नुहुँर्दै नगर प्रमुख मिना कुमारी लामा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत २४ गते । 
धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै छ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ ।

शनिबार बिहान हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई लगायतकाले संयुक्त रूपमा भैरवको मूर्ति अनावरण गर्नुभएको हो ।

मूर्ति अनावरण पश्चात् बोल्नुहुँदै नगर प्रमुख लामाले उपमहानगरले धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले धार्मिक पर्यटन विकासमा पाथीभराको महत्त्वपूर्ण योगदान रहने जिकिर गर्दै हेटौँडा आउने पर्यटकलाई घुम्ने र समय बिताउने धेरै पर्यटकीय स्थलहरू रहेको बताउनुभयो ।

हेटौँडा–७ निवासी समाजसेवी एवम् व्यवसायी नवराज खतिवडाको लगानीमा मूर्ति स्थापना गरिएको हो । एउटै ठुलो ढुङ्गामा कुँदेर बनाइएको भैरवको मूर्ति स्थानीय कालिगढद्वारा करिब एक महिना लगाएर निर्माण गरिएको खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै, चैत २७ गतेबाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबार नगर प्रमुख लामाले शुभारम्भ गर्नुभएको छ । बाजागाजा, झाँकी सहित कलश यात्रासहित महायज्ञ सञ्चालन गरिने पाथीभरा मन्दिरका पिठाधिश गुरु देवीदासले बताउनुभयो ।

सप्तशती चण्डी पाठ एवम् नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राह्मणद्वारा नियमित पाठ पारायण समेत गरिने भएको छ । नौ दिन सम्म चल्ने नवभागवत पारायण चैते दसैँका दिन समापन हुने पाथीभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशव प्रसाद देवकोटाले बताउनुभयो । मन्दिरमा वैशाख १, ४ र ५ गते महापूजा हुने आयोजकले जनाएको छ ।