• १८ असार २०८२, बुधबार

रोकियो दुई नमुना बस्ती निर्माण

blog

केदार तिमल्सिना 

बनेपा, चैत २४ गते । भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत काभ्रेपलाञ्चोकको दुई स्थानमा निर्माणाधीन ‘एकीकृत नमुना बस्ती’ निर्माणको काम रोकिएको छ । मण्डनदेउपुर नगरपालिका–१०, चण्डेनी तीनधाराको बस्ती निर्माणको काम सम्पन्न हुन सकेको छैन भने चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेमा निर्माण हुने भनेको नमुना बस्तीको काम नै अन्योलमा परेको छ । 

मण्डदनेउपुर नगरपालिका–१० मा निर्माणाधीन एकीकृत नमुना तामाङ बस्तीमा सामुदायिक भवन, तामाङ सङ्ग्रहालयसहितको २४ वटा घर निर्माण गरी घरबास सञ्चालन गर्ने गरी काम अघि बढाइए पनि बजेट अभावका कारण उक्त बस्तीको काम दुई वर्षदेखि रोकिएको हो । एकीकृत नमुना तामाङ बस्ती निर्माण समितिका सल्लाहकार रामबहादुर तामाङले बजेट अभावका कारण बस्ती निर्माणको काम पूरा गर्न नसकिएको बताउनुभयो । उहाँले बस्तीभित्र निर्माण हुने २४ वटा घरमध्ये १८ वटा घरको काम सकिएको, चार वटा घरको काम आधा सकिएको र दुई वटा घर र बस्तीभित्रका सबै घरमा शौचालय निर्माण गर्न बाँकी रहेको बताउनुभयो । उहाँले बस्तीमा निर्माण हुने सामुदायिक भवन र तामाङ सङ्ग्रहालय र सडकको काम सम्पन्न भएको भन्दै निर्माण भएका घरको रङरोगनलगायतको ‘फिनिसिङ’ को कामसमेत बाँकी रहेको बताउनुभयो । 

“बस्तीका घर सम्पन्न गर्नका लागि करिब २५ लाख रुपियाँ जति रकम भए पुग्छ, दुई वर्षदेखि नगरपालिकाले बजेट विनियोजन गरेर पूरा गर्छु भन्ने आश्वासन दिए पनि हालसम्म बजेट विनियोजन गरिएको छैन” तामाङले भन्नुभयो । उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोग तथा ‘ह्याविट्याट फर ह्युम्यानिटी’ को प्राविधिक सहयोगमा उक्त बस्ती निर्माणको काम अघि बढाइएको बताउँदै एउटा घर निर्माणका लागि ११ लाख रुपियाँ खर्च भएको बताउनुभयो । 

बस्ती निर्माणमा प्राधिकरणले एक करोड २० लाख र नगरपालिकाले दस लाख रुपियाँ सहयोग गरेको थियो । मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले स्थानीयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट तेस्रो किस्तासम्मको रकम लिएकोले नगरपालिकाले बस्ती पूरा गर्ने चाहना हुँदासमेत बजेट विनियोजन गर्न नसकेको भन्दै वडा नं. १० मा रहेको एकीकृत नमुना वस्तीको काम पूरा गर्न नगरपालिकाले विभिन्न व्यक्ति तथा संस्थासँग प्रयास गरिरहेको बताउनुभयो । 

यसै गरी चाँैरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेमा शिलान्यास गरिएको ‘तामाखानी एकीकृत नमुना बस्ती’ निर्माणको काम अघि बढ्न सकेको छैन । बस्ती निर्माणका लागि विनियोजन भएको ८४ लाख रुपियाँमध्ये २९ लाख रुपियाँले बस्ती निर्माणका लागि जग्गा सम्याउने काम भएको छ । बस्ती निर्माण गर्न खर्च गरिएको २९ लाख रुपियाँको बिल, भर्पाइलगायतमा समस्या देखिएपछि प्राधिकरणले दोस्रो किस्ताको रकम नपठाएकोले बस्ती निर्माणको काम अलपत्र परेको थियो । रोकिएको नमुना बस्ती निर्माणको लागि सिआरएस नेपाल र शान्ति जन आर्दश सेवा समाजसँग सम्झौता भए पनि गाउँपालिकाले सहयोग नगर्ने अवस्था तथा पहिलाको कामको विषयमा विवाद देखिएपछि ती संस्थालेसमेत बस्ती निर्माणको काम अघि नबढाएका हुन् । भूकम्प तथा दुतीको पहिरोका कारण विस्थापन हुने २२ घरपरिवारका लागि तामाखानी एकीकृत नमुना बस्तीको योजना बनाइएको थियो ।