• १२ साउन २०८१, शनिबार

मकवानपुर र चितवनमा देखिन थाल्यो डेंगु

blog

अनिल पराजुली
हेटौँडा, चैत २३ गते ।
गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत लागेसँगै चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् ।  चैत महिनामा चिवनमा ३० र मकवानपुरमा २४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ ।  

चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ३३३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एकजनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ४९९ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो ।

तथ्याङ्क अनुसार चालु आवको हालसम्म काठमाडौंमा तीन हजार‚ चितवनमा एक हजार ६८३‚ ललितपुरमा एक हजार ४३८‚ मकवानपुरमा ८०८‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई÷दुई जना‚ काभ्रेपलाञ्चोक र मकवानपुरका एक÷एक जनासहित ६ जना सङ्क्रमितको मृत्यु थियो ।

मन्त्रालयका अनुसार चालु आवको साउनमा दु हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैत २२ गतेसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयको तथ्याङ्क अनुसार साउन‚ भदौ‚ असोज र कात्तिक महिनामा बढेको डेंगु जाडोयाम सुरु भएसँगै घट्दै गएको थियो ।

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एसिड लामखुट्टेले दिनमा मात्र टोक्ने भएकाले डेंगु सङ्क्रमणबाट आफु र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न‚ सुत्दा झुलको प्रयोग गर्न‚ लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न‚ ट्याङ्की र कुलरहरू कम्तीमा हप्तामा एक पटक सरसफाइ‚ वरपर पानी जम्न नदिने‚ पूरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेँगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सन् २०१९ मा चार हजार ५४ जना‚ २०२० मा ८६‚ २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको तथ्याङ्क छ ।