• १३ साउन २०८१, आइतबार

स्वास्थ्यकर्मीविहीन कपिलवस्तु कारागार

blog

कारागार कार्यालय कपिलवस्तुको प्रशासनिक भवन । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), चैत २३ गते । कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ । कारागारमा विगत चार महिनादेखि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सानो समस्याका लागि पनि कपिलवस्तु अस्पताल धाउनुपर्ने बाध्यता भएको हो ।

कपिलवस्तु कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गर्नका लागि नेपाल सरकारको एक जना सि.अ.हे.व को दरबन्दी छ । कारागारमा रहेको अ.हे.व लक्ष्मण न्यौपाने सरुवा भएर जाजरकोट गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बनेको हो ।

कारागारमा हाल नियमित औषधी सेवन गर्ने सुगर, प्रेसर, मुटुरोग र दीर्घरोगी गरी १२ जना कैदीबन्दी छन् । साथै कारागारमा ६० वर्ष उमेरमाथिका २६ जना कैदीबन्दी छन् । बढ्दो उमेरसँगै स्वास्थ्यमा समस्या देखिने हुँदा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी नहुँदा उमेर पुगेका कैदीबन्दी तथा दीर्घ रोगी कैदीहरुलाई समस्या पर्ने गरेको छ । 

सामान्य स्वास्थ्य समस्याको बेलैमा उपचार गर्न नसक्दा बिस्तारै रोग जटिल बन्दै जाने र सोही रोगको उपचारका लागि ठुलो रकम खर्च हुन सक्ने अवस्था आउन सक्ने हुन्छ । 

अधिकार कर्मी रवीन्द्रनाथ ठाकुरका अनुसार रिक्त रहेको अ.हे.व को दरबन्दी तत्काल सरकारले पूर्ति गरिनुपर्ने बताउनुभयो । कैदीबन्दी बिरामी हुँदा उपचार पाउने अधिकारबाट वञ्चित गर्न नहुने उहाँको भनाइ छ ।

कारागार कार्यालय कपिलवस्तुका जेलर रेमलाल न्यौपानेका अनुसार कारागारमा सिनियर अ.हे.वको दरबन्दी रहे तपनि अहिले सो पदमा स्वास्थ्यकर्मी नहुँदा रिक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कैदीबन्दीहरुलाई सामन्यदेखि नियमित चेकजाँच गर्न कपिलवस्तु अस्पताल लैजाँदा सुरक्षा चुनौती पनि छ ।’ स्वास्थ्यकर्मीका लागि विभिन्न निकायमा पत्राचार गरिसकेको जेलर न्यौपानेको भनाइ छ । 

कारागारमा स्वास्थ्यकर्मी अभावका कारण सामन्य औषधी सिटामोल, मेट्रोन, जीवनजललगायतका औषधीका लागि पनि कैदीबन्दीलाई कपिलवस्तु अस्पताल धाउनुपर्ने अवस्था छ । कपिलवस्तु कारागारमा हाल ५ सय १० कैदीबन्दी छन् ।