• २१ वैशाख २०८१, शुक्रबार

बाजुराको कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी

blog

बाजुरा कारागार ।

बाजुरा, चैत २३ गते । बाजुरामा रहेको कारागार भवन जीर्ण भएको छ । भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् । अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरले रात बिताउने गरेका छन् । 

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट कैद सजाय पाइरहेका कैदीबन्दीले जेलभित्र बस्ने पर्याप्त भवन नहुँदा थप सास्ती भोग्दै आएका हुन् । वर्षौ पहिले बनेको तीनवटा भवन ढुङ्गाले छाएको, जीर्ण तथा झ्यालसमेत नहुँदा कष्टकर रात बिताउन सकस भएको छ । कैद भोगिरहेका उनीहरुले जेलभित्र पनि सहजरुपमा जीवनयापनको महसुस गरेका छैनन् । बस्नका लागि बास तथा शौचालयको अवस्था पनि निकै दयनीय छ । 

भवन अभावका कारण एउटा कोठामा २५ जना बढी कैदी उभिएरै रात कटाउने गरेका छन् । जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा सकस भएको कारागार प्रमुख हंसबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले ७८ कैदी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेका उहाँको भनाइ छ ।

“जीर्ण भवन र पटकपटकको भूकम्पबाट चर्किएर चिराचिरा परेको छ, कैदीबन्दीहरु जोखिममा छन्”, कारागार प्रमुख बोहराले भन्नुभयो, “भवन निर्माणका लागि जग्गा पर्याप्त छ तर बजेट छैन । प्रदेश र सङ्घ सरकारसँग माग गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।” भवन निर्माणका लागि सात रोपनी जग्गा भएपनि आवश्यक बजेट नहुँदा जीर्ण भवनमा कैदीहरु राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । कैदीलाई भवनको व्यवस्थापन गर्न नसके कारागारभित्र रहेको खाली ठाउँमा त्रिपाल हालेर राख्नुपर्ने बोहराले बताउनुभयो । 

“अहिले कारागारको क्षमता २५ जना भए पनि तीनगुणा बढी बस्दैँ आएका छन्”, उहाँले भन्नुभयो, “अब खाली ठाउँमा त्रिपाल हालेर बासस्थानको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ ।” कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् । स्थानीय तह, प्रदेश तथा सङ्घका जनप्रतिनिधिलाई निरिक्षणका क्रममा भवन तथा कैदीको समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको भनाइ छ । रासस