• १२ साउन २०८१, शनिबार

नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउनु आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ।

पाटन (ललितपुर), चैत २२ गते। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ। 

ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेलमा बिहीबारदेखि सुरु भएको पाँच दिने ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्पो’को उद्घाटन समारोहमा  परराष्ट्रमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी संविधान संस्थागत भएको उल्लेख गर्दै अहिले कार्यान्वयनको चरणमा रहेको र अबको मुख्य काम देशको आर्थिक सामाजिक विकासलाई फड्को मारेर लक्ष्यमा पुर्‍याउनु नै रहेको बताउनुभयो।

“सरकार र निजी क्षेत्र मिलेर तीव्र विकास गरेर आर्थिक समृद्धि हासिल गर्नु छ। हामीले हाम्रो सम्भावनालाई राम्रोसँग प्रयोग र सदुपयोग गरेर राजनीतिक लक्ष्य हासिल गर्नु छ। अहिले परराष्ट्र सम्बन्धमा आर्थिक कूटनीतिलाई महत्त्वपूर्ण बनाएर अगाडि बढिरहेका छौँ,” परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो। 

आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी विस्तारित गर्ने र सम्भावनालाई पहिचान गर्दै नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँको भनाइ थियो।

परराष्ट्रमन्त्री श्रेष्ठले एक्सपोले ऐतिहासिक महत्त्व राख्ने उल्लेख गर्दै सिङ्गो राष्ट्रको उद्योग व्यवसायको विकास र विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अहिले देशको राष्ट्रिय कार्यभार आर्थिक समृद्धिको कार्यभार भएको भन्दै उहाँले स्वाधीन, स्वतन्त्र र सुन्दर नेपाललाई अब समृद्ध बनाउने कुरामा केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले एक्सपोले नेपाल र ललितपुरलाई मात्रै नभएर सहभागी राष्ट्रहरूलाई पनि सहयोग पुर्‍याएको बताउनुभयो। उहाँले यो एक्सपोले सहभागी देशका साना तथा मझौला उद्योगलाई प्रोत्साहित गर्दै औद्योगिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

बागमती प्रदेशका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले आर्थिक मन्दीको अवस्थालाई चिर्दै व्यावसायिक, औद्योगिक क्षेत्र चलायमान हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा एक्सपोले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। बागमती प्रदेशले हस्तकलासम्बन्धी विधेयकका लागि अन्तिम तयारी गरिरहेको उल्लेख गर्दै उहाँले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेमा आफ्नो प्रयास रहेको बताउनुभयो। 

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले मुलुकभित्रको आर्थिक क्रियाकलापले अन्तर्राष्ट्रिय व्यापारिक समुदायसँग सहकार्य भई उद्यमी व्यवसायीको क्षमता विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाबाट नविनतम् प्रविधि र व्यापारलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। निजी क्षेत्रको शिथिलतालाई ध्यानमा राखेर आगामी बजेट ल्याउन कार्यवाहक अध्यक्ष अग्रवालले आग्रह गर्नुभयो।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृति, मूर्ति, कार्पेट, कपडा र परालबाट बनेका सामानको जीवन्त प्रदर्शनी मेलाको मुख्य आकर्षण भएको बताउनुभयो। ऐतिहासिक धरोहर अमूर्त सम्पदा र कलाकृतिको प्रदर्शनीका साथै मित्र राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, टर्की, मलेसियालगायतमा निकासीयोग्य सामान एवं दैनिक उपभोग्य सामान र खानाको कक्ष रहेका उहाँले जानकारी दिनुभयो। रासस