• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा

blog

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउनुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, चैत २२ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउनुभएको हो । राजीनामा बुझाएपछि संक्षिप्त कुराकानी गर्दै शाहले भन्नुभयो, ‘‘वर्तमान राजनीतिक परिस्थितिका कारण राजीनामा गरेँ ।’’

बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिनुभएको हो ।  प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा. तारा जोशी काठमाडौँमै रहेकाले विश्वासको मत पाउन कठिन देखिएपछि उहाँले राजीनाको तयारी गर्नुभएको थियो । 

सरकार कायम रहनलाई ५२ सदस्यीय प्रदेश सभाका २७ जना सांसदको समर्थन आवश्यक थियो । तीन जना अनुपस्थित भएपछि  मुख्यमन्त्री शाहका पक्षमा २४ मत मात्र पर्ने देखिएको थियो । 



उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी र कैलाश चौधरी आगामी सरकार गठनका सम्बन्धमा काठमाडौँमा छलफलमा व्यस्त हुनुहुन्छ ।