• २१ वैशाख २०८१, शुक्रबार

मोरङका बचत ऋण सहकारीमा शृङ्खलाबद्ध चोरी

blog

बुधबार राति बेलबारी–१० नारायणचौकको झलझली बचत तथा ऋण सहकारी संस्थामा भएको चोरी । तस्बिर :हरि कोइराला

हरि कोइराला
उर्लाबारी, चैत २२ गते ।
मोरङमा पुस यता लगातार सहकारी संस्था चोरी भइरहेका छन् । बुधबार राति बेलबारी–१० नारायणचौकको झलझली बचत तथा ऋण सहकारी संस्थाको गेट र भित्रको झ्याल फुटाएर सहकारीको ३५ हजार पाँच सय रुपियाँ चोरी भएको छ । 

गत शुक्रबार राति बेलबारी ३ सहकारीमार्गमा रहेका जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी प्रयास भएको थियो ।

एउटै भवनको तल्लो तलामा रहेको जिल्ला सङ्घको उत्तर तर्फको झ्यालको ग्रील निकालेर चोर भित्र पसे पनि चोरले पैसा लान सकेको थिएन । जिल्ला सङ्घका अध्यक्ष प्रेमप्रकाश कोइरालाले भन्नुभयो, ‘‘व्यवस्थापकको सावधानीका कारण नगद क्षति भएन । तर भौतिक क्षति भइको छ । सबै कोठाका दराजको ताला फोरेर पैसा खोजी भएको देखिन्छ । चोरले सिसिटीभिको डिभिआर भने उक्काएर लगेको छ । सोही दिन जिल्ला सङ्घको माथिल्लो तलामा रहेको लालिगुराँस साकोसमा पनि चोरी प्रयास भएको थियो ।’’

अध्यक्ष दुर्गाप्रसाद गौतमले चोर भल्टसम्म पुगे पनि भल्ट फुटाउन नसकेर नगद क्षति नभएको बताउनुभयो । 

पुस १२ गते यता मोरङमा बचत ऋण सहकारी संस्थामा भएको चोरीको यो घटना नवौं हो ।  कानेपोखरी ७ को जनमुखी बचत तथा ऋण सहकारी संस्था लि.बाट पुस १२ गते राति ४ लाख १४ हजार ८०१ रुपियाँ, माघ २९ गते राति कानेपोखरी–६ को आदर्श बचत तथा ऋण सहकारी संस्था लि.बाट ९३ हजार ९६० रुपियाँ,पथरीशनिश्चरे ८ को सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट फागुन २ गते चार लाख ७६ हजार १६६ रुपियाँ चोरी भएको थियो । सबै घटनाको प्रकृति एउटै रहेको प्रहरीको भनाइ छ । 

यस्तै फागुन १५ गते राति लेटाङ–२ फडानी स्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको थियो ।

सहकारी संस्थाको मुख्य कार्यालयसँगै रहेको गोदावारी सेवाकेन्द्र र खैरेनी सेवाकेन्द्रबाट एउटै समयमा चोरी भएको थियो । खैरेनी सेवा केन्द्रबाट ३ लाख ९० हजार ५८५ रुपियाँ र मुख्य कार्यालयसँगै रहेको गोदावारी सेवाकेन्द्रबाट आठ लाख ९० हजार ४४५ रुपियाँ चोरी भएको थियो । दुबै सेवाकेन्द्रको मुख्य ढोकासहितका ताला फोडेर चोरी भएको थियो । बेलबारी ८ राधानगरको जनप्रेमी साकोसमा पनि आक्रमण भएको थियो । तर, त्यहाँबाट भने चोरले रकम लान सकेको थिएन ।