• ७ कात्तिक २०८१, बुधबार

मानिसको मस्तिष्कमा राखियो चिप

blog

अमेरिकामा पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको छ । अर्बपति एलन मस्कको कम्पनी न्युरालिङ्कले यो चिप निर्माण गरेको हो । ताररहित चिप प्रत्यारोपणमा सफलता मिलेको मस्कले बताएका छन् । प्रारम्भिक नतिजाले न्युरोन अर्थात् स्नायु कोषिकामा उत्साहप्रद सङ्केत देखाएको छ । चिप प्रत्यारोपण गरिएका बिरामीको अवस्थामा सुधारसमेत आएको छ ।

न्युरालिङ्क कम्पनीले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उद्देश्य राखेको छ । चिप राखेर स्नायु प्रणालीसँग सम्बन्धित जटिल अवस्थालाई निराकरण गर्न  खोजिएको छ ।

स्वास्थ्यसम्बन्धी अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले गत मेमा मस्कको कम्पनीलाई मानवमा चिप परीक्षण गर्ने अनुमति दिएको थियो ।

शल्यक्रिया गर्दा एउटा रोबटले शल्यक्रियामार्फत ६४ वटा लचिला त्यान्द्रा मानिसको मस्तिष्कमा राख्ने न्युरालिङ्कले जनाएको छ । त्यस्ता त्यान्द्रा मानिसको रौँभन्दा पातला हुन्छन् । ती त्यान्द्रा हिँडडुल गर्ने आशय नियन्त्रण गर्ने मस्तिष्कको एउटा भागमा राखिन्छ । ती त्यान्द्राले मस्तिष्कबाट निस्किने सङ्केत एउटा एपमा तारबिनै प्रसारित गर्न र तिनको अभिलेख राख्न सघाउँछन् । त्यो उपकरण ब्याट्रीबाट चल्छ । मस्तिष्कबाट सङ्केत पाउने एपले मानिसले कसरी चल्न वा हिँडडुल गर्न चाहेको छ भन्ने छुट्याउँछ ।

न्युरालिङ्कको यो साधनलाई ‘टेलिप्याथी’ नाम दिइएको छ । यसले फोन वा कम्प्युटरलाई नियन्त्रण गर्न अनि तिनका माध्यमबाट लगभग सबै उपकरणलाई केवल सोचेर मात्रै नियन्त्रण गर्न सक्षम बनाउने छ ।

आफ्ना हातखुट्टा प्रयोग गर्न नसक्ने मानिस यसको प्रारम्भिक प्रयोगकर्ता हुने छन् । यसको मद्दतबाट प्रयोगकर्ताले मस्तिष्कबाटै कम्प्युटर तथा स्मार्ट फोनलाई नियन्त्रण गर्न सक्ने छन् अर्थात् कम्प्युटर तथा स्मार्ट फोन चलाउनका लागि हातले छुनुपर्ने छैन ।

हाल यसको उद्देश्यचाहिँ वायरलेस ब्रेन कम्प्युटर इन्टरफेसमा काम गर्नु रहेको छ । यसमा सर्जिकल रोबोट तथा सुरक्षित प्रत्यारोपणमा ध्यान दिइएको छ । सन् २०३० सम्ममा २२ हजार मानिसको मस्तिष्कमा चिप जडान गर्ने लक्ष्य कम्पनीको छ ।