• १२ मंसिर २०८१, बुधबार

अन्धोपना हटाउने अभियान

blog

सङ्खुवासभा समाचारदाता

सङ्खुवासभा, चैत २१ गते । विगत दुई वर्षदेखि मोतीबिन्दुका कारण दृष्टिविहीन ६० वर्षीय विष्णुबहादुर तामाङ खाँदबारीमा राखिएको शिविरमा सफल शल्यक्रियापछि पूर्ण रूपमा आँखा देख्न सक्ने भई भएर घर फर्किनुभएको छ । भोजपुर घर भएका बोली नआउने उहाँ सफल शल्यक्रियापछि निकै खुसी हुनुहुन्थ्यो । यस पटक खाँदबारीमा आयोजित दुईदिने शिविरबाट ४० मोतीबिन्दुसहित ४४ जनाको आँखाको सफल शल्यक्रिया गरियो ।

हिमाली जिल्ला सङ्खुवासभामा उपचार अभावका कारण अन्धो भएर बस्न नपरोस् भनी नेपाल नेत्रज्योति सङ्घले अन्धोपना हटाउने अभियान सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति सङ्घ सङ्खुवासभाद्वारा सञ्चालन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा यो वर्ष ४१० जनाको सफल शल्यक्रिया भइसकेको छ । त्यस्तै जिल्लाभरिका २५ हजार जनाको आँखा परीक्षण गरी १३ हजारको उपचार गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो । त्यस्तै ३५० भन्दा बढीमा दृष्टिदोष देखिएकाले निःशुल्क चस्मा वितरण गरिएको बरालले जानकारी दिनुभयो ।

सङ्खुवासभामा हरेक वर्ष चार सयदेखि पाँच सय जनाको शल्यक्रिया भइरहेको नेत्रज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष युवराज शाक्यले जानकारी दिनुभयो । सबै स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापनाको काम भइरहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । हाल खाँदबारी, सिलिचोङ, मकालु र चैनपुरमा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको र केही समयभित्रै धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिकामा केन्द्र सञ्चालन गरिने अध्यक्ष शाक्यले जानकारी दिनुभयो । स्थानीय तहहरूमा उपचार केन्द्र स्थापना गर्दा आवश्यक उपकरण र दुई स्वास्थ्यकर्मीमध्ये एक जना नेत्रज्योति सङ्घले र अर्को एक जना सम्बन्धित स्थानीय तहले व्यवस्था गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो । 

नेत्रज्योति सङ्घले गरेको सर्वेक्षण अनुसार सङ्खुवासभामा दुई हजार आठ सय जनामा मोतीबिन्दुको समस्या रहेको सङ्घले जनाएको छ । तीमध्ये एक हजार पाँच सय जना तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । गाउँ गाउँमा गएर गरिने स्क्रिनिङ र उपचार केन्द्रबाट मोतीबिन्दु पत्ता लागेकाहरूलाई खाँदबारीमा बोलाई निःशुल्क शल्यक्रिया गरिँदै आएको छ । 

विसं २०३५ अघिसम्म आँखाको उपचारका लागि नेपालबाहिर जानुपर्ने बाध्यता रहेको तर हाल भने छिमेकी देशका नागरिकसमेत उपचारका लागि नेपाल आउने नेत्रज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदासले जानकारी दिनुभयो ।

धनकुटाका नेत्र चिकित्सक रामप्रसाद पोखरेलको सक्रियतामा २०३५ सालमा नेत्रज्योति सङ्घ स्थापना भएपछि भने नेपालमै आँखा उपचार गराउन सम्भव भएको अध्यक्ष उदासको भनाइ छ ।