• १२ साउन २०८१, शनिबार

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, चैत २० गते। नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट ५ को ओमशान्ति चोकमा बाल विकास बोर्डिङ स्कुलको बसले स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको हो। 

बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले विपरीत दिशामा गुडिरहेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पर्वत फलेवास नगरपालिका ४ घर भई हाल भरतपुर महानगरपालिका २६ बस्ने ६८ वर्षीया पार्वती पौडेलको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।

त्यसैगरी दुर्घटनामा गैडाकोट नगरपालिका ५ निवासी २० बर्षीया आशिका सापकोटा गम्भीर घाइते हुनुभएको छ। 

उहाँको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।