काठमाडौं, चैत २० गते । समाजवादी मोर्चाका संयोजक एवम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा गृहमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महासचिव चन्दले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गर्नुभयो ।
उहाँले समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बिचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? भन्नेकुरा मूल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभई स्थिरतातिर देशलाई अघि बढाउने दाबी गर्नुभयो । उहाँले आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताउनुभयो ।
‘‘हामीले विभिन्न उपलब्धि हासिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन् । श्रमिकहरू, उत्पीडितहरू, अधिकारको खोजी गर्ने शक्तिहरू कोही पनि चुप लागेर बस्दैनन् । प्रवृत्तिहरू बिचको टकराब हुनु स्वाभाविक हो । हामी समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बिचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ?,’’ महासचिव चन्दले भन्नुभयो, ‘‘यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । यसको मतलब आजकोलाई भत्काएर फाल्ने भनेको होइन, यहाँ केही बाहिर भाष्यहरू गलत ढङ्गबाट आइरहेका छन् । त्यसले अस्थिरता ल्याउँछ । समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ की भन्ने आदि इत्यादिका तर्कहरू पनि हामी सुन्ने गर्दछौँ । होइन त्यो कुरा । अस्थिरतालाई स्थिरतातिर बदल्ने कुरा हामी गर्छौँ । आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान दिनेकुरा हो ।’’
नेपालका कानुनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरूको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने बताउनुभयो ।