• १२ साउन २०८१, शनिबार

नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक

blog

समन्वय बैठकमा सहभागी नेपाल र भारतका सुरक्षा अधिकारी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २० गते। नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।  

भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरेर सीमा नाकामा विभिन्न सुरक्षा रणनीति र योजना बनाउन समन्वय बैठक आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो। 

उहाँले सो बैठकमा नेपाल तर्फबाट आफू लगायत बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र दाङका प्रहरी प्रमुख एसपी रामबहादुर जिसी सहभागी भएको उहाँको भनाइ छ। बैठकमा बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी भर्चुअल माध्यमबाट सहभागी भएको उहाँको भनाइ छ। 

भारततर्फबाट बैठकमा देवीपाटन मण्डल गोण्डाका डिआइजी अमरेन्द्र प्रतापसिंह, एसएसबीका डिआइजी जेडी वशिष्ठ, बहराईचका डिएम मोनिका रानी, एसपी बृन्दा शुक्लासहित लखिमपुर, बलरामपुर र श्रावस्ती जिल्लाका डिएम र एसपीसहितको सहभागिता थियो। 

बैठकमा भारतमा चरणबद्ध रूपमा यो महिनाबाट हुन लागेको लोकसभाको निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न दुवै देशको सीमावर्ती क्षेत्रबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई संयुक्त सुरक्षा रणनीति एवम् कारबाहीबाट व्यवस्थापन गर्ने निर्णय भएको बाँकेका प्रजिअ पोखरेलले बताउनुभयो ।

बैठकमा नेपाल र भारत दुवै देका सुरक्षा अधिकारीहरूले आ आफ्नो जिल्लाको नाकाको सुरक्षा अवस्था विस्तृत रूपमा जानकारी गराउनुका साथै आगामी दिनमा समन्वय र सहकार्य गरेर गर्नुपर्ने कार्यका बारेमा सुझाव समेत प्रस्तुत गर्नुभएको थियो। 

खुला सिमानाका कारण दुबैतर्फ विभिन्न प्रकारका आपराधिक गतिविधि एवं माल सामान ओसार पसार हुने गरेको र अन्य गैरकानुनी कामसमेत हुने गरेको ठहर गर्दै बैठकमा नाकामा समन्वय र सहकार्य गर्दै सुरक्षा कडाइ झन् बढाउँदै जाने सहमति भएको छ।