• २२ वैशाख २०८१, शनिबार

आत्महत्या दुरुत्साहनमा चार जनाविरुद्ध मुद्दा दर्ता

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत २० गते । गोरखाको सिरानचोक गाउँपालिका-७ अमिलेडाँडका ७१ वर्षीय मनबहादुर खड्कालाई झुन्डिएर आत्महत्या गर्न बाध्य बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार मृतक मन बहादुर खड्कालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मृतकका छोराले दिएका जाहेरी दरखास्तको आधारमा नजिकैका छिमेकी पर्ने ६० वर्षीय रुपकाजी भन्ने सन्त बहादुर गुरुङ, ५५ वर्षीय बुद्धिकुमारी गुरुङ, ४५ वर्षीय मिनु गुरुङ र पुष्पकुमारी गुरुङलाई आइतबार पक्राउ गरी सोमबार नै मुद्दा दर्ता गरिएको हो । 

गएको शनिबार घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखका अनुसार चैत १५ गते मृतक मन बहादुर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका थिए । "त्यही जङ्गलमा स्थानीय छिमेकी रुपकाजी भनिने सन्त बहादुर गुरुङ र उनका श्रीमती बुद्धिकुमारी एकै ठाउँमा गाई बस्तु चराउँदा सँगै रहेका थिए, प्रहरी प्रमुख पाठकले भन्नुभयो, "सँगै भएको क्रममा बुद्धि कुमारीले मृतक मन बहादुर खड्कासँग पैसा चाहिएकाले पैसाको कुराकानी भएको रहेछ, त्यही क्रममा मृतक खड्काले चाहिएको भए चलाइदिउँला भन्ने कुराकानीलाई बाङो अर्थ लगाएर गाउँ भरी नै अनावश्यक हल्ला गरिएछ ।"

त्यसै विषयमा नवज्योति आमा समूहकी अध्यक्ष मिनु गुरुङ र सचिव पुष्पकुमारी गुरुङको नेतृत्वमा कचहरी बसेर मन बहादुर खड्कालाई त्यस कचहरीमा झिकाए । त्यस कचहरीले मृतक खड्कालाई अनावश्यक दबाब र प्रभाव पारी बुद्धि कुमारीलाई अभद्र व्यवहार गरेको भन्दै आरोप लगाएर दोषी ठहर गरिएको प्रहरीको भनाइ छ । 

विभिन्न डर धम्की दिएर उनीहरूले मृतक मन बहादुर खड्कालाई आफै न्यायाधीश बनेर १५ हजार जरिवाना समेत गराए । भएनभएका बहाना बनाएर फसाउने नियत राखेर बदनाम गरेकाले मृतक मन बहादुरले चैत १७ गते आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी प्रमुख वासुदेव पाठकले बताउनुभयो । 

उहाँका अनुसार समाजमा गलत नियत राखेर कसैलाई फसाउने र त्ससबाट अनुचित फाइदा लिई आफू खुसी जरिवाना गराउनु गैर कानुनी भएकाले कानुन हातमा लिने जो कोही भएपनि कानुनी कारबाहीको भागीदार हुनुपर्छ ।