• १४ मंसिर २०८१, शुक्रबार

उद्यमीलाई कपडाको झोला बनाउने तालिम

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत २० गते । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र प्लाष्टिकको झोला प्रयोगलाई कम गर्न पालिकाभित्रका सबै वडाबाट समेटेर उद्यमीलाई कपडाको झोला बनाउने तालिम प्रदान गरेको छ । 

वातावरणलाई स्वच्छ राख्नका लागि प्लाष्टिक झोला विस्थापित गर्नैपर्ने भएकाले उक्त तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत गएको फागुन ९ गतेदेखि सुरु भएको तालिममा नगरपालिकाका १० वटै वडाबाट ३० जना महिलाहरुको सहभागिता रहेको बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

बेनी नगरपालिकाको सबै वडाबाट महिलाहरुलाई समेटेर आयोजना गरिएको तालिम पश्चात महिलाहरु उद्यमी बन्न सहज हुने उहाँको भनाइ छ । तालिममा सहभागी महिलाहरुलाई सिलाई मेसिनको प्रयोगबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान, सिप प्रदान गरिएको नगरपालिकाको लघुउद्यम विकास कार्यक्रमका प्रमुख कुलचन्द्र रेग्मीले जानकारी दिनुभयो । प्लाष्टिकको प्रयोग गर्दा घरवरपरको माटो प्रदूषण हुने र प्लाष्टिक जलाएर नष्ट गर्न खोज्दा पनि वायु प्रदूषण हुने भएकाले त्यस्तो अवस्थाबाट बाहिर निस्कनका लागि पनि कम्तिमा सामान किन्न जाने समयमा प्रयोग हुने झोला कपडाकै तयार गरेर प्रयोग गर्न सकिने भएकाले यो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

तालिमको समापनमा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदुषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाई, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि प्लास्टिकलाई प्रतिबन्ध नै लगाउनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले कपडाको झोलाको प्रयोग बढाउँदै प्लाष्टिक प्रयोगलाई निरुत्साहीत गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले समुदाय र व्यवसायीको साथ भएमा बेनी नगरपालिका क्षेत्रमा प्लास्टिक झोलामा प्रतिबन्ध लगाउन सम्भव रहेको बताउनुभयो । असन्तृप्त हाइड्रोकार्बन इथेनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने पोलिइथिलिनको झोलाले अत्यधिक फोहोर, पुनः प्रयोग गर्न नमिल्ने, जलप्रदूषण, उर्वराशक्तिमा कमी र वायु प्रदूषण बढेपछि सरकारले वि.स. २०७२ सालमा नै प्लास्टिकको झोला प्रतिबन्ध लगाएको थियो । 

नकुहिने प्लास्टिक बाल्दा उत्पादन हुने नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुने ८ नंम्बर वडा अध्यक्ष कर्माचार्यले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका उहाँले कपडाको झोला बनाउने उद्यमीहरुका लागि थप सिप र व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिने बताउनुभयो ।