• २२ वैशाख २०८१, शनिबार

गुल्मी प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना

blog

रमेश विश्वकर्मा 

गुल्मी, चैत १९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ । 

गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी सम्बन्धी गुनासो सुन्ने हेल्प डेस्क स्थापना गर्ने निर्देशन गरेको हुँदा यहाँ पनि डेस्क स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

मिटरब्याजी सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासो तत्काल सुनुवाइ गर्ने उद्देश्यले प्रशासन कार्यालयमा हेल्प डेस्कको स्थापना गरिएको हो । यहाँ मिटरब्याजी सम्बन्धी गुनासो सुनुवाइ तथा सहजीकरणका लागि प्रशासकीय अधिकृत नारायण घर्तीलाई फोकल अधिकृत तोकिएको उहाँले बताउनुभयो ।

देशभरी अर्थात् तराईमा ठुलो सङ्ख्यामा मिटरब्याजीहरु देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी गैरेले गुल्मी जिल्ला ठेगाना भएका केही व्यक्तिको नाम मिटरब्याजीको रूपमा काठमाडौँमा दर्ता भएको र उनीहरूलाई त्यहीबाट कारबाही भएको बताउनुभयो ।

यस जिल्लामा हालसम्म औपचारिक रूपमा मिटरब्याजी सम्बन्धी गुनासो नआएको भन्दै उहाँले स्थानीय तहलगायत सबैलाई हेल्प डेस्कसम्बन्धी जानकारी गराइएको बताउनुभयो । कतैबाट मिटरब्याजी सम्बन्धी गुनासो आएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने प्रशासनले जनाएको छ ।