• १२ साउन २०८१, शनिबार

प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज खोप अभाव

blog

बरहथवा (सर्लाही), चैत १९ गते । सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेबिज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका हुन् ।

मागअनुसार खोप नआएका कारण सधैँ अभाव हुने गरेको लामबन्दीस्थित नगर अस्पतालका डा.राम विश्वास रायले जानकारी दिनुभयो । कुकुरले टोक्दा लगाउने एन्टिरेविज विरुद्धको खोप प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र मधेस प्रदेश जनकपुरले वितरण गर्ने गरेको छ । जिल्लामा साबिक पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये चार वटा बलरा, लालबन्दी, बरहथवा र हरिपुरबाट सेवा प्रवाह हुँदै आएको छ । 

यसमा थप सासापुर स्वास्थ्य चौकी हरिवन र प्रादेशिक अस्पताल मलङ्गवाबाट पनि सेवा प्रदान हुने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो । सेवा सञ्चालन भइरहेका जिल्लाका उत्तरी क्षेत्रका लालबन्दी, हरिपुर प्राथमिक स्वास्थ्य केन्द्र र सासापुर स्वास्थ्य चौकीमा हरेक महिना औषधि अभाव हुने गरेको छ । सासापुर स्वास्थ्य चौकी हरिवनमा मासिक २५ देखि ४० भाइल मात्र खोप आउने गरेको छ । तर, माग सय भाइल रहेको स्वास्थ्य संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।

‘‘यहाँ माग सय भाइलसम्म हुने गरेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेका बिरामी धेरै आउँछन् । तर, औषधि मुस्किलले हप्तादेखि दुई हप्तालाई मात्र पुग्छ ।’’ आफूहरूले प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रमा माग पत्र बुझाएको उहाँले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र हरिपुरमा पनि खोप सकिएको चिकित्सकहरूले बताएका छन् । यस महिनाको लागि आएको ४० भाइल खोप गत १५ गतेअघि नै सकिएको लालबन्दी नगर अस्पतालका डा रायले जानकारी दिनुभयो । रेबिज विरुद्धको खोप लगाउन आउनेलाई अन्यत्र पठाउने गरिएको उहाँको भनाइ थियो । 

खोपका लागि मासिक सय जना बिरामी आउने गरेको र औषधिको कोटा थोरै हुँदा समस्या भएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक अनिलकुमार चौधरीले जानकारी दिनुभयो । ‘‘अहिले हामीसँग खोप छैन ।’’ उहाँले भन्नुभयो, ‘‘सधैँ यस्तो त हुन्न तर, पनि औषधि पर्याप्त छैन । सधैँ नपुग नै हुन्छ ।’’ रेबिजविरुद्धको खोप सरकारले निःशुल्करुपमा प्रदान गर्ने गर्दछ । तर, पनि स्थानीय स्वास्थ्य संस्थाले व्यवस्थापन खर्चका लागि भनेर एक मात्राको सय रुपैयाँसम्म लिने गरेका छन् । त्यो पनि नपाउँदा स्थानीय चर्को मूल्यमा निजी क्लिनिकबाट किनेर प्रयोग गर्न बाध्य छन् । 

रेबिज विरुद्धको खोप बजारमा प्रति भाइल दुई हजार पाँचदेखि तीन हजारसम्म पर्ने गरेको छ । यसरी सरकारले अनुदानमा निःशुल्क दिने भनेको रेबिज विरुद्धको खोपसमेत अभावमा बजारमा गएर किनेर लगाउनुपर्दा विपन्न नागरिकलाई मर्का परेको हरिवन नगरपालिकाकी रिता सापकोटाले बताउनुभयो ।

यता प्रादेशिक अस्पताल मलङ्गवामा प्रत्येक महिना तीन सय भाइल हाराहारीमा खोप आउने गरेको छ । अस्पतालका मेसु डा नवलकिसोर झाले औषधि पर्याप्त रहेको बताउनुभयो । प्रदेशबाट कुनै रोकतोक विना खोप दिने गरेको उहाँको भनाइ छ । प्रयोग विवरण स्पष्ट बुझाउनुपर्ने उहाँको दाबी छ । कुकरले टोके एक व्यक्तिले यो खोप २८ दिनभित्रमा तीनदेखि पाँच पटकसम्म लगाउनुपर्छ । रासस