• १३ असोज २०८१, आइतबार

फूल व्यवसायीबाट वार्षिक २० लाखसम्म आम्दानी

blog

फूल बिक्री गर्नुहुँदै यमेनहाङ्ग राई । तस्बिर : निशा राई

निशा राई
धरान, चैत १९ गते । धरान उपमहानगरपालिका पूर्वको सुन्दर नगरीको रूपमा परिचित छ । यहाँ फूल नरोप्ने घर कमै पर्दछ । हरेक घरमा करेसाबारी होस् या नहोस् तर फूलबारी हुने गर्दछ । यसरी नै सानैबाट फूल रोप्ने रहर र फूलले घर सजाउँदै आउनुभएका धरान–२० का ३९ वर्षीय यमेनहाङ्ग राई अहिले फूल व्यवसायी बन्नुभएको छ । 

सानैबाट फूलको सौख भएकाले फूल रोप्दा रोप्दै करिब सात वर्ष अघिदेखि धरान–२० स्थित चिन्डेडाँडामा घरबारीमा एभरेष्ट नर्सरी फर्म सञ्चालन गर्दै आउनुभएका राई अहिले फूल व्यवसायीको रूपमा परिचित हुनुहुन्छ  ।

व्यवसायीक रूपमा गाई पालन गर्दै जीविकोपार्जन गर्दै आएपनि पछिल्लो समय गाईहरूमा विभिन्न रोग, दाना, पानी, घाँसमा महँगी बढेसँगै यस पेसाबाट जीविकोपार्जन गाह्रो भएपछि आफैँले स्याहार गरेको फूलहरू पनि धेरै प्रजातिको भएकाले मानिसहरूले सोध्न आउने, माग्न आउने, कतिले किन्नै माग्ने गर्दै आएकाले फूलप्रति नै आकर्षित भएको उहाँको भनाइ छ । उहाँले अहिले फूल व्यवसायबाटै सात जनाको परिवार पाल्दै आएको बताउनुभयो ।

आफ्नो पेसा नै फूल व्यवसायी भएपछि फूलका बिरुवा हेरचाह गर्ने, पानी दिने, नयाँ बिरुवाहरू बनाउने, कलम काट्ने गरेर नै समय बित्छ यस बाहेक धरानमा मेला महोत्सव लागेको समयमा फूलको स्टल राखेर पनि व्यापार गर्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले नर्सरीमा छिमेकी देश भारतदेखि थाइल्यान्ड, जापान, जर्मनीलगायत युरोपियनबाट समेत आउने गर्दछ । यद्यपि भारतबाट धेरै आउने गरेको उहाँ बताउनुभयो ।

उहाँले नर्सरीमा ८० रुपियाँदेखि ८० हजार रुपियाँसम्मको स्वदेशी तथा विदेशी फूलका बिरुवा रहेको बताउनुभयो । राईले वर्षको १५ देखि २० लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।