• २२ वैशाख २०८१, शनिबार

किच्चकवधमा भेटियो दरबारको ऐतिहासिक भग्नावशेष

blog

बनियानी (झापा), चैत १९ गते । झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकवधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । 

भद्रपुर-३ पृथ्वीनगरस्थित देउनिया नदी र मेची नदीको किनारमा रहेको किच्चकवधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको यही चैत २ गतेदेखि १८ गतेसम्म सातौँ पटक उत्खनन गरेको थियो । पुरातत्वविद् आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत नवराज अधिकारी, इञ्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशबाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेलले उत्खनन गर्नुभएको थियो । पहिलो पटक पुरातत्वविद् आचार्यको नेतृत्वको टोलीले वि.सं.२०५८ मा किच्चकवधमा उत्खनन सुरु गरेको थियो । 

हालसम्म गरिएको उत्खननका क्रममा किच्कवधको उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तर-पश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिम–दक्षिणमा अर्को बहुतले भवनको भग्नावशेष फेला परेको छ । यी चार वटा भवनको दक्षिणतिर दुई सय फुटको दूरीमा सुरक्षा प्रमुखसहित अरु सुरक्षाकर्मी बस्ने शैलीको दुईतले भवन गरी पाँच वटा भवनका संरचना फेला परेका पुरातत्वविद् आचार्यले जानकारी दिनुभयो । 

यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताब्दीतिरको मानव सभ्यतासँग गाँसिएका प्रमाणित भएको आचार्यले बताउनुभयो । “यो आधारमा किच्चकवधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ”, उहाँले भन्नुभयो, “भारतमा कुषाणकाल चलेको समयमा यस स्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुनसक्छ । पाँचौँ शताब्दीसम्म कायम रहेको (भारतको गुप्तकालसम्म) अनुमान छ ।” उत्खनन गरिएका संरक्षित स्थलमा मानिसले टेकेर हिँड्न नहुने आचार्यले बताउनुभयो । “यो ठाउँमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “संरक्षण समितिले सुरक्षित राख्नसक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहन सक्छ ।” रासस