• २० वैशाख २०८१, बिहिबार

नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु

blog

सदरमुकाम फुङ्लिङबाट वितरण सुरु गरिएको सामुदायिक विद्यालयको पाठ्यपुस्तक । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको हो ।

जिल्लास्थित नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सङ्घले सोमबारदेखि सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न थालेको छ । सङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक वितरण गर्न थालिएको हो । व्यवसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट ल्याएको पाठ्यपुस्तक वितरण गरिएको हो । 

महासङ्घले पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेसँगै यहाँका सामुदायिक विद्यालयहरूले धमाधम आफ्नो विद्यालयलाई चाहिने पाठ्यपुस्तक लैजान थालेका अध्यक्ष मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै विद्यालयले पाठ्यपुस्तकका लागि सम्पर्क गर्न थालेका छन् । 

सामुदायिक विद्यालयको पाठ्यपुस्तक तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार सेट ल्याएको र धमाधम बिक्री वितरण गर्न सुरु गरिएको महासङ्घले जनाएको छ । महासङ्घले नेपाली माध्यमको कक्षा १ देखि १० सम्मको एक हजार ५०० का दरले १५ हजार सेट पाठ्यपुस्तक ल्याइएको छ । यस्तै अङ्ग्रेजी माध्यमको कक्षा १ देखि ७ सम्मको तीन हजार ५०० सेट र लिम्बू भाषाको आनिपान कक्षा १ देखि ७ सम्मकै तीन हजार ५०० सेट नै ल्याएर वितरण हुन थालेको हो । 

नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यालय–विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने गरी वितरण गर्न थालेको महासङ्घका प्रमुख सल्लाहकार दिनेश भट्टराईले बताउनुभयो । भट्टराईका अनुसार यस वर्ष प्रत्येक कक्षाको पाठ्यपुस्तक सेटमा पुरै विषय उपलब्ध रहेको छ । आफूलाई चाहिने अर्थात् आवश्यक पर्ने पाठ्यपुस्तक चाँडै लैजानका लागि विद्यालयहरूलाई महासङ्घले आह्वान पनि गरेको छ ।

ताप्लेजुङमा सामुदायिक विद्यालयको सङ्ख्या ३३० रहेका छ । उक्त सङ्ख्यामध्ये ६१ वटा माध्यमिक तहका रहेका छन् । अन्य १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । समन्वय इकाईका अनुसार जिल्लाका सामुदायिक विद्यालयमा करिब २० हजार विद्यार्थी अध्ययनरत छन् ।