• १० पुस २०८१, बुधबार

हेटौँडा सिमेन्टका पूर्व कर्मचारी आन्दोलित

blog

हेटौँडा सिमेन्ट उद्योगका पूर्वकर्मचारी धर्ना दिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत १९ गते । हेटौँडा-९, लामसुरेमा रहेको हेटौँडा सिमेन्ट उद्योगका २७ जना पूर्व कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अवकाश पाएको करिब दुई वर्ष बितिसक्दा पनि उपदान वापतको रकम नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

अवकाश पाएका कर्मचारीलाई तह अनुसार प्रतिव्यक्ति ४० लाखदेखि ८० लाख रुपियाँसम्म भुक्तानी दिनुपर्नेछ । अवकाश पाएको ३५ दिनभित्र उपदान रकम भुक्तान गर्नुपर्ने व्यवस्था भए पनि उद्योग प्रशासनले उपदान रकम दिन बेवास्ता गरेको भन्दै चैत १५ देखि पूर्व कर्मचारीले उद्योग प्रशासनको गेटमा धर्ना दिइरहेका छन् । 

विगत ५ वर्षदेखि निरन्तर घाटामा रहेको उद्योगले अवकाश प्राप्त कर्मचारीको उपदान रकम मात्रै करिब १८ करोड रुपियाँ भुक्तान गर्न बाँकी रहेको संघर्ष समितिका सहसंयोजक शिव अधिकारीले जानकारी दिनुभयो । पूर्व कर्मचारीले चैत १५ गतेदेखि २३ गतेसम्म बिहान १० बजेदेखि १२ बजेसम्म प्रशासन भवन अगाडि दैनिक धर्ना दिने, २५ गतेदेखि ३० गतेसम्म धर्ना दैनिक १ घण्टा बढाउने निर्णय गरेका छन् । माग पूरा नभए धर्ना दिने समय बढाउँदै लैजाने र वैशाख १५ गतेसम्म पनि माग पूरा नभए अर्को चरणको आन्दोलन गर्ने पूर्वकर्मचारीले चेतावनी दिएका छन् । 

उपदान रकम नपाएपछि पूर्वकर्मचारीले यसअघि गत पुसमा पनि धर्ना दिएका थिए । पुस २५ गते भएको वार्ताबाट पालैपालो गरी २०८० असार मसान्तसम्म सबै कर्मचारीलाई उपदान रकम दिइसक्ने गरी उद्योग प्रशासनले सहमति गरेको थियो । सहमति बमोजिम उद्योग प्रशासनले हालसम्म एक जनालाई मात्र उपदान वापतको रकम दिएको र तोकिएको समयभित्र सबैजनाले उपदान नपाउने निश्चित भएपछि पुनः आन्दोलनमा उत्रनुपरेको सङ्घर्ष समितिका सह–संयोजक अधिकारीले बताउनुभयो ।

हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले भने पूर्वकर्मचारीको माग जायज भएको तर उनीहरुलाई उपदान रकम उपलब्ध गराउन उद्योगसँग रकम नै नभएका कारण समस्या भएको बताउनुभयो । सिमेन्ट उद्योग निरन्तर घाटामा रहेकाले उपदान रकम भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । पाण्डेका अनुसार हेटौँडा सिमेन्ट उद्योगको वर्तमान दायित्व ६० करोडभन्दा बढी छ । 

उद्योगमा कोइला ल्याउने सप्लायर्सको करिब २५ करोड, उपदानवापतको करिब १८ करोड, बिजुलीवापतको करिब ६ करोड तिर्न बाँकी रहेको जनाइएको छ । कर्मचारीको सञ्चयकोष, बिमा, नागरिक लगानी कोषको रकम गत भदौयता जम्मा गर्न नसकिएको महाप्रबन्धक पाण्डेले बताउनुभयो । करलगायतको दायित्व पनि भुक्तान गर्न सकेको छैन। सिमेन्ट उत्पादन र बिक्रीबाट प्राप्त रकमबाट कर्मचारीको तलब भुक्तानी गरिएको हेटौँडा सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।