• १० पुस २०८१, बुधबार

बागमतीमा विश्वासको मत: साना दलहरू अझै अनिर्णीत

blog

राममणि दाहाल

हेटौँडा, चैत १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको आज सोमबार लिने तय भई सक्दासमेत साना दलहरू भने अझै अनिर्णीत रहेका छन् । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले अझै पनि कुनै निर्णयमा पुगेका छैनन् । 

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ः०० बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

तर केन्द्रमा सत्ता समीकरणमा परिवर्तन आएसँगै बागमती प्रदेशमा निर्णायक बनेका राप्रपा, एकीकृत समाजवादी र नेमकिपाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत लिन वा नदिने बारेमा निर्णय नगर्दा मुख्यमन्त्री जम्कट्टेल समस्यामा पर्नुभएको हो । 

राप्रपाका संसदीय दलका नेता उद्धव थापा र नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विश्वासको मतको बारेमा निर्णय नभई सकेको बताउँदै सोमबार मात्र अवस्था हेरेर निर्णय लिइने बताउनुभयो । 

उता दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेपछि दलमा नै विवाद सिर्जना भएको छ । गठबन्धनमा रहेका दलहरूको मतले मात्र विश्वासको मतका लागि बहुमत नपुग्ने भएपछि यसअघि मुख्यमन्त्रीको दाबी गर्दै आउनुभएका बज्राचार्यलाई जम्कट्टेलले मन्त्री बनाउनुभएको थियो । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले वर्तमान गठबन्धनको विपक्षमा मतदान गर्ने पार्टीले निर्णय गरेको बताउनुभयो । 

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले विश्वासको मत दिने वा नदिने बारेमा निर्णय भई नसकेको बताउँदै यथास्थितिमा विश्वासको मत नदिने बताउनुभयो । 

यसैबिच काँग्रेसले मुख्यमन्त्री जम्कट्टेलले सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएकोमा मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।