• १३ साउन २०८१, आइतबार

झापा एमालेको अध्यक्षमा गिरी सर्वसम्मत

blog

लीलाराज खड्का 

बिर्तामोड, चैत्र १८ गते ।  नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत हुनुभएको छ । यसअघि गिरी एमाले झापाका कार्यवाहक अध्यक्ष रहनुभएको थियो ।  यसै गरी अर्का अध्यक्षका प्रत्याशी शिव ढुङ्गेल भने  उपाध्यक्ष पदमा सर्वसम्मत हुनुभएको छ । सचिवमा तुलसी कार्की सर्वसम्मत हुनुभएको छ । 

उपसचिवमा भने असारु राजवंशी, टीकाराम मग्राती र अनिता कन्दङबाले उम्मेदवारी दर्ता गर्नुभएको छ । चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रवारबाट बन्द सत्र सुरु भएको हो । शनिवार दिउँसो भएको उम्मेदवारी दर्तामा तिन  पदबाहेक सबै पदहरूमा आवश्यक सङ्ख्याभन्दा बढी उम्मेदवारी परेको छ । १५० सदस्यीय पदहरूमा ३५० जनाले उम्मेदवारी दिएको नेकपा एमाले झापा जिल्ला निर्वाचन कमिटीले जनाएको छ  । 

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमवारलाई सारिएको जनाइएको छ  । सर्वसम्मत नभएको पदहरूमा भने सोमवारलाई निर्वाचनको मिति तोकिएको छ ।  

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी रहनुभएको छ ।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको  जिल्ला कमिटी बन्ने छ । विभिन्न जन वर्गीय सङ्गठनहरूबाट पछि थप १५ जना मनोनीत  हुनेछन् । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष  केपी शर्मा ओलीले गर्नुभएको थियो ।  झापा जिल्ला एमाले अध्यक्षसमेत रहनुभएको केपी शर्मा ओलीको गृह जिल्ला समेत भएकोले भरसक नेतृत्व सर्वसम्मत गर्नतर्फ दलका केन्द्रीय नेताहरू लागिपर्नुभएको बताइएको छ ।