• १२ साउन २०८१, शनिबार

हराउन थाले रैथाने घर

blog

कालीकोट समाचारदाता 

कालीकोट, चैत १८ गते । कालीकोटमा पछिल्लो समय कर्णाली लोकमार्ग र कर्णाली कोरिडोरले यहाँको विकास र आर्थिक उन्नतिमा राम्रो प्रभाव परेको छ तर विकास निर्माणसँगै रैथाने घरहरू भने हराउन थालेका छन् । 

विकासका कारण परम्परागत रूपमा बनेका घर, मठमन्दिर हराउन थालेका हुन् । कलात्मक रूपबाट ढुङ्गामाटो र काठले बनेका घरमा सिमेन्ट लगाउने, छाना फेरेर जस्तापाता लगाउँदा रैथाने घर हराउनुका साथै महत्व पनि घटेको छ । 

तिलागुफा नगरपालिका–६ का स्थानीय तथा नेपाली कांग्रेस कालीकोटका सभापति अम्मबहादुर शाहीले देवदारुका काठले छाएका घरका छाना विस्थापन हुँदा बस्तीको आकर्षण नै हराएको बताउनुभयो । उहाँले ढुङ्गाले बनेका घर, कमेरो माटोले लिपपोत गरेका घरका पर्खाल र काठले छाएका छाना विस्थापन हुँदा रैथाने वस्तु लोप भएको जनाउनुभयो । 

सोही वडाको खल्लागाडमा काठले छाएका घरहरू हराउँदै जान थालेका छन् । भएका घर पनि जस्तापाताले छाएको उहाँले जनाउनुभयो । ग्रामीण क्षेत्रमा बनेका पुराना घरमा हस्तकलाको प्रयोग हुने गरेको थियो । झ्यालढोकाका बनावट र सजावट निकै लोभलाग्दा छन् तर ती घरहरू सडक पुगेसँगै भत्केका छन् भने सिमेन्टको गारो लगाएर जस्तापाताले छाना छोप्ने गरिएको छ । 

स्थानीय सरकारले पनि पुराना घरको संरक्षणमा चासो दिएको छैन । खरका छानामुक्त गर्ने नाममा परम्परागत छाना भएका घरहरू विस्थापन हुँदै आएका छन् । यसअघि तिलागुफा नगरपालिका, पचालझरना गाउँपालिका, खाँडाचक्र नगरपालिकाले जस्ताले छाउने योजना अघि सारेका थिए । 

सरकारले रैथाने वस्तुको महìव नबुझेका कारणले बस्तीको पहिचान गुमेको रास्कोट नगरपालिका–३ का ८२ वर्षीय पदमनाथ योगीले बताउनुभयो । स्थानीय सरकारको नेतृत्व फेसनेबल भएका कारणले परम्परा, संस्कृति, रीतिरिवाज हराउँदै गएको भनाइ उहाँको छ । पुर्खाले संरक्षण गरेर राखेका सबै रैथाने सम्पदा अहिलेको आधुनिक संस्कृति र विकासले गुमेको गुनासो उहाँले गर्नुभयो । परम्परागत कलाका घरहरू संरक्षण गर्न स्थानीय तहले पहल थाल्नुपर्ने उहाँको सुझाव छ ।