• २० वैशाख २०८१, बिहिबार

हुम्लामा मात्र सवारी दुर्घटनाबाट २९ जनाको मृत्यु

blog

गत चैत १९ गते अदानचुली गाउँपालिकामा दुर्घटना परेको जिप । तस्बिर ः राजन

हुम्ला, चैत १८ गते । पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा पाँच वर्षयता सवारी साधन दुर्घटनामा परि २९ जनाको मृत्यु भएको छ । जिल्लाका आन्तरिक रूपमा सञ्चालनमा आएका सडकमा सवारी दुर्घटनामा पनि ठुलो रूपमा मानवीय क्षती भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले २०७४ साल वैशाख २८ गतेयता जिल्लाको आन्तरिक रूपमा सञ्चालनमा आएका सवारी साधन दुर्घटनामा परि चौबीस जना यात्रु तथा चालकहरूको मृत्यु भएको बताउनुभयो । उक्त मितिमा ट्याक्टर दुर्घटनामा परि एक जना पुरुष यात्रुको मृत्यु भएको थियो । त्यसैगरि जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरण अनुसार २०७५ भदौ ३० गते बाटो खन्ने क्रममा जेसिवीले ढुङ्गा खसाल्दा अर्का एक जना पैदल यात्रुको मृत्यु भएको थियो । 

त्यस्तै २०७६ साल असार ३ गते खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजार नजिक कर्णाली नदीमा यात्रु बाहक जीप खस्दा चालक सहित दश जनाको मृत्यु भएको थियो । यद्यपि सो दुर्घटनामा पनि छ जनाको भने हालसम्म लास भेटिएको छैन । २०७६ साल मङ्सिर ११ गते टिपर दुर्घटनामा परि चार जना यात्रुको मृत्यु भएको थियो भने १२ जना घाइते हुनु भएको थियो सोही महिनाको २६ गते नै टिपर दुर्घटनामा परि थप दुई जनाको मृत्यु भएको थियो । त्यसैगरि २०७७ साल मङ्सिर १९ गते जिप दुर्घटना हुँदा चार जना यात्रुहरूको मृत्यु भएको थियो भने सात जना घाइते हुनु भएको थियो ।

सोही वर्षको फागुन ४ गते ट्याक्टर दुर्घटनामा पनि एक जना महिला यात्रुको मृत्यु भएको प्रहरी प्रतिवेदनले देखाएको छ । त्यस्तै  २०७८ सालको वैशाख ४ गते जिप दुर्घटनामा पनि एक जना यात्रुको मृत्यु भएको थियो । २०७९ साल कात्तिक २३ गते जिप दुर्घटनामा पनि एक जना यात्रुको मृत्यु भएको थियो । यता २०८० सालको असार ४ गते भएको जिप दुर्घटनामा पनि एक जना यात्रुको मृत्यु भएको थियो । २०८० सालको साउन ७ गते जेसिवी दुर्घटना हुँदा एक जना पैदल यात्रुको मृत्यु भएको थियो । 

त्यसैगरि २०८० साल चैत १० गते जिप दुर्घटनामा परि दुई जना यात्रुहरूको मृत्यु भएको थियो । यो अवधिमा सवारी दुर्घटनामा पनि सोह्र जना पुरुष र आठ जना महिलाको ज्यान गएको छ । सो अवधिमा ११ वटा सवारी साधन दुर्घटनाका घटनाहरू भएका छन् । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।