• १३ साउन २०८१, आइतबार

युवाको पलायन रोक्न सरकार गम्भीर हुनुपर्छ : एमाले उपाध्यक्ष थापा

blog

एमालेले पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै एमाले उपाध्यक्ष रामबहादुर थापा। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, चैत १७ गते। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले युवा जनशक्तिको पलायन रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ।

एमाले पाँचथरको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न पाँचथरको फिदिम आइपुग्नुभएका थापाले शनिबार पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। 

देशमा रोजगारी र स्थिरता नहुँदा युवा विदेश पुग्न बाध्य भएको भन्दै थापाले उद्योग कलकारखाना खोल्नका साथै रोजगारीको वातावरण सिर्जना गरेर युवा शक्तिलाई देशमै टिक्नसक्ने आधार तय गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। 

कुनैपनि दलले स्पष्ट बहुमत प्राप्त नगर्दा मुलुकमा अस्थिरता बढेको भन्दै थापाले पछिल्लो पटक निर्माण भएको गठबन्धनले तय गरेका न्युनतम साझा कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गर्न सत्ता साझेदार दल प्रतिबद्व हुनुपर्नेमा जोड दिनुभयो। 

उपाध्यक्ष थापाले शनिबार नै एमाले पाँचथरको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्नुभएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ।