• २१ वैशाख २०८१, शुक्रबार

तेरमी पर्वमा रम्दै थकाली समुदाय (फोटो फिचर)

blog

अमृतप्रसाद पौडेल

मुस्ताङ, चैत १७ गते। हिमालपारिको जिल्ला मुस्ताङको स्याउको राजधानीका रूपमा लिइने मार्फामा बसोबास गर्ने थकाली समुदायको आफ्नो मुख्य पर्व ‘तेरमी’ मुस्ताङको मार्फामा चली रहेको छ। मुस्ताङ जिल्लाको मार्फा क्षेत्रका थकाली समुदायले यो पर्व एक सातासम्म मनाउने गर्दछन्। 

पहिलो दिन भेटघाट, त्यसपछिको अन्य छ दिनसम्म अन्य गतिविधिका साथै युवाको दुई समूह भाले (फो) र पोथी (म्हो) समूह बनाएर तारा खेल (आर्चरी) खेल्ने मार्फाका स्थानीय युवा दीपक लालचनले जानकारी दिनुभयो। 

थकाली समुदायअन्तर्गत थाकखोला क्षेत्रमा बसोबास गर्नेले मात्र नभई अन्य थकाली समुदायले पनि ‘तोरन्ल’ र ‘त्युङ्ला’ पर्व मनाउने गरिन्छ। फागुपूर्णिमा कै वरपर मनाइने यस्ता पर्वको आ–आफ्नै तवरले व्याख्या गरिने भए पनि तरेमी पर्वलाई मार्फा क्षेत्रमा निकै महत्त्वका साथ हेरिने र मनाइने गरिन्छ।

तेरमी, तोरन्ल र त्युङ्ला पर्वको शाब्दिक अर्थ करिब उस्तै भए पनि मनाउने तरिका र विधि केही फरक रहेको लालचनको भनाइ छ। मुस्ताङ जिल्लाको कागबेनीदेखि तल्लो भेक म्याग्दी जिल्लासँग सिमाना जोडिएको घाँसादेखि माथिको क्षेत्रलाई सामान्यतया थाकखोला भन्ने गरिन्छ।

हिन्दु धर्मावलम्बीले विश्वभर फागुपूर्णिमा मनाउँदै गर्दा थाक क्षेत्रका थकालीले भने तरेमी, तोरन्ल तथा त्युङ्ला पर्व मनाउने गर्छन्। तरेमीको पहिलो दिन भेटघाट मात्रै हुने गर्छ। त्यसपछिका छ दिन तारा खेल तथा नाचगान गरेर मनाउने गरिन्छ। 

फागुपूर्णिमाको दिनबाट सुरु भएको पर्व सप्तमीमा सकिन्छ। हरेक चिज तथा गतिविधि दुई समूह विभाजन गरेर मनाउने चलन रहेको स्थानीयको भनाइ छ। तारा खेल, गीत तथा अन्य नृत्य र भोजका लागि सामूहिकता नै यसको महत्त्वपूर्ण पक्ष भएको लालचनले बताउनुहुन्छ।

समग्र थकालीले तोरन्ल पर्व मनाएजस्तै गरी मार्फा क्षेत्रमा बसोबास गर्ने तथा त्यही क्षेत्रमा जन्मेका थकाली समुदायको पर्व तेरमी वसन्त ऋतुको आगमनलाई स्वागत गर्ने हेतुले मनाइने गरेको पाइन्छ। हिउँदयाम सकिएको र चिसो बिदा हुँदै गर्मीको आगमनका रूपमा पनि यो पर्वलाई मनाइने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो। आफ्ना दिवङ्गत पितृलाई सम्झिएर पूजा गर्नका लागि मनाइने यो पर्वको समयमा थकाली समुदायका महिलाले मध्यरातमा उठेर तीन दिनसम्म पितृलाई चोखो पानी तथा खानेकुरा चढाउँछन्।

पूजा गर्दा पितृको उद्धार हुनुका साथै आफूहरूले पितृबाट आर्सीवाद पाउने मार्फा क्षेत्रका थकालीको विश्वास छ। यो पर्वको आगमन पूर्वसन्ध्यामा आफ्ना घर आगमन सरसफाइ गर्ने र रङ लगाउने गरिन्छ। घरभित्रका भाँडावर्तन सफा गर्नुका साथै आफ्ना चेलीबेटीलाई पनि घरमा बोलाएरै पर्वमा सहभागी गराउने चलन छ। 

तेरमी पर्वमा रम्दै थकाली समुदाय तेरमी पर्वमा रम्दै थकाली समुदाय तेरमी पर्वमा रम्दै थकाली समुदाय तेरमी पर्वमा रम्दै थकाली समुदाय तेरमी पर्वमा रम्दै थकाली समुदाय तेरमी पर्वमा रम्दै थकाली समुदाय तेरमी पर्वमा रम्दै थकाली समुदाय