• १३ साउन २०८१, आइतबार

मध्यविन्दु क्याम्पसले सुरु गर्‍यो नियमित योग अभ्यास

blog

योग अभ्यासमा सहभागि हुँदै स्थानीयलगायत । तस्बिर : गोरखापत्र

बोमलाल गिरी

नवलपुर, चैत १७ गते । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले नियमित योग अभ्यास तथा जीवनशैली व्यवस्थापन कार्यक्रम सुरु गरेको छ । 

क्याम्पसको स्वास्थ्य सेवा तथा सामाजिक कल्याण समितिको आयोजनामा आफ्नै प्राङ्गणमा शनिबारदेखि योग अभ्यास तथा जीवनशैली व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो । 

‘आफ्नो स्वास्थ्यका लागि समय व्यवस्थापन गरौँ, योग गरौँ, निरोग रहौँ’ भन्ने मूल नाराका साथ सुरु भएको योग अभ्यास हरेक दिन बिहान ५:०० बजेदेखि ५:४५ सम्म सञ्चालन हुने स्वास्थ्य सेवा समितिका संयोजक डा नरनाथ पाण्डेले जानकारी दिनुभयो । 

शनिबारको योग अभ्यासमा क्याम्पसका अध्यक्ष एवं संविधान सभा सदस्य जीवन श्रेष्ठ, क्याम्पस प्रमुख गणेशमान गिरी, सहायक क्याम्पस प्रमुख डा.विष्णुप्रसाद लम्साल, विभागीय प्रमुखहरू, प्राध्यापक तथा कर्मचारी र स्थानीय गरी ४० जनाको सहभागिता रहेको थियो । 

योग अभ्यासमा क्याम्पस प्रमुख गिरीले जीवन स्वस्थ भए मानसिक स्वस्थता हुने भएकाले योगको धेरै महत्त्व रहेको भन्दै नियमित अभ्यास गर्नु पर्नेमा जोड दिनुभयो । क्याम्पसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नदिएर स्वास्थ्यका लागि योग पनि गर्नुपर्छ भनेर सचेतना फैलाउन पनि क्याम्पस प्रयासरत रहेको उहाँको भनाइ थियो ।

क्याम्पसका अध्यक्ष एवं संविधान सभा सदस्य श्रेष्ठले व्यस्तताले बदलिएको हरेक मान्छेको जीवनशैलीमा परिवर्तन ल्याउन र आफूलाई स्वस्थ राख्न निरन्तर योग अभ्यास निक्कै महत्त्वपूर्ण रहेको भन्दै समय व्यवस्थापन गरी योग गर्न आग्रह गर्नुभयो । 

पतञ्जलि योग समाज नवलपुरका अध्यक्ष एवं योग गुरु डा नरनाथ पाण्डेले विश्वमा मृत्यु दर बढ्नेको मुख्य कारण नसर्ने खालका रोगहरू जस्तै मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर, फोक्सोका रोगहरू, अल्जाइमर जस्ता मानसिक रोगहरू रहेको भन्दै ती सबै रोगको निराकरण योग रहेको र यसलाई मेडिकल साइन्सले समेत पुष्टि गरेकाले अल्छी नगरी गाेग गर्न आवश्यक रहेको बताउनुभयो । 

अर्का योग गुरु गणेश आचार्यले आफूले नियमित योग गरेकाले नै क्यान्सर जस्तो भयङ्कर रोगलाई पनि जितेको र अहिले अन्य स्वस्थ मान्छेसरह कुनै कुरामा पनि प्रतिस्पर्धा गर्न कमजोर नरहेको बताउनुभयो ।