• १३ साउन २०८१, आइतबार

नेपालगन्जका मासु पसलको अनुगमन

blog

नेपालगन्जका मासु पसलको अनुगमन गर्दै टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १७ गते । बुटवलमा सडेको मासु बिक्री भएको पाइएको कुरा सार्वजनिक भएपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्जका मासु पसलहरूमा अनुगमन सुरु गरेको छ । नेपालगन्जमा मासुको अत्यधिक खपत भइरहेको तथा अहिले मुस्लिम समुदायको रमजान पर्वले गर्दा मासुको माग उच्च रहेकोले बेला बजारमा के कस्तो मासु बिक्री भइरहेको छ भन्ने पत्ता लगाउन अनुगमन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरमा सबैभन्दा बढी मासु पसलहरू रहेको वडा नम्बर ४ मा रहेका मासु पसलहरूबाट अनुगमन सुरु गरिएको नेपालगन्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो । बजारमा खुला ठाउँमा मासु बिक्री गरिरहेको, बासी र गुणस्तरहीन मासु बिक्री भइरहेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरको पशु सेवा शाखाले वडा नम्बर ४ का आधा दर्जन मासु पसलमा अनुगमन गरेको हो । 

स्वच्छ मासु उत्पादन तालिम दिइएका वडा नम्बर ४ का १५ वटा मासु पसल मध्ये आधा दर्जन पसलमा अनुगमन गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनुभयो । तालिम लिएपछि व्यवसायीहरूले व्यवहारमा कति लागू गरेका छन् भनेर अनुगमन गरिएको शाहीको भनाइ छ । उहाँका अनुसार वडा नम्बर ४ का कार्की कर्नर फ्रेस हाउस, द ब्ल्याक मिट हाउस, राप्ती भेरी मिट शपथ, हमाल फ्रेस हाउस, मुकिम फ्रेस हाउस र न्यु भाले फ्रेस हाउसमा अनुगमन गरिएको हो । 

पशु सेवा शाखाका अनुसार न्यूरोड, बसपार्क र गणेशपुर क्षेत्रका मासु पसल अनुगमन गरिँदा अधिकांशले मूल्यसूची नराखेको पाइएको छ । कतिपय पसलमा सरसफाइको कमीसमेत देखिएकाले त्यस्ता पसललाई सजग बनाइएको जनाइएको छ । वध गर्ने र मासु कटिङ गर्ने ठाउँ छुट्टाछुट्टै बनाउन पनि सचेत गराइएको प्रमुख शाहीले बताउनुभयो । पसलमा सिसाको फ्रेम प्रयोग गर्न, आवश्यक कागजपत्र देखिने गरी राख्न, नवीकरण नगरेकालाई एक हप्ताभित्र नवीकरण गर्न, भर्खर सञ्चालनमा आएकालाई व्यवसाय दर्ता गर्न समय दिइएको पशु सेवा शाखाले जनाएको छ । 

अनुगमन टोलीमा आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, पशु प्रजनन कार्यालयका पशु चिकित्सक डा.मिलनकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दीपेन्द्र श्रेष्ठ, पशु सेवा शाखा प्रमुख शाही, पशु सेवा शाखाका अच्युत गौतम, रिता राना लगायत सहभागी हुनुभएको थियो ।