• १६ वैशाख २०८१, आइतबार

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

blog

रामपुर (पाल्पा), चैत १६ गते । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने देवलाल सार्कीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । 

सुनारको गत मङ्गलबार दिउँसो १२ बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न देखिएकोले लप्सीखोलाका १९ वर्षीय सार्कीलाई पक्राउ गरि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिनुुभयो । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएका सामग्री बरामद गरेको छ । 

प्रतिवादीले हत्या गर्दा प्रयोग गरेको धारिलो हतियार (हँसिया) एक थान, हत्या गर्दा लगाएको लुुगा कालो जिन्स पाइन्ट र रातो टिसर्ट एक-एक थान, रातो रङको खादा, कालो रङ्गको चप्पल एक जोर, मृतकको मोबाइल एक थान र रगतजस्तो रातो पदार्थ लागेको मोबाइलको टेम्पर ग्लास एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुुभयो । सुनार गत मङ्गलबार घरबाट अन्दाजी दुुई किलोमिटर टाढाको लप्सीखोलामा कपडा धुन र नुहाउन गएकी थिइन् । 

उनी दिउँसो साढे तीन बजेसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा ४ बजेको समयमा रिब्दिकोट-१ खुलखुले गैरास्थित लप्सीखोलाबाट कराम्दीतर्फ जाने गोरेटोमा उनले धुुन लगेका कपडा लथालिङ्ग अवस्थामा भेटिएको थियो । सो स्थानबाट अन्दाजी २० मिटर तलपट्टि खरबारीमा सुनारको टाउको, घाँटी, हातमा घाउचोट सहित रगताम्य अवस्थामा मृत फेला परेकी थिइन् । उक्त घटना थाहा हुनेबित्तिकै प्रहरीचौकी सर्देवा, हार्थोक, अर्गली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली घटनास्थल पुगी हत्याको अनुसन्धान सुरु गरेको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारामा मृतक सुनारले लुुगा धोएर डोकोमा हाल्ने बेला सामान्य विवाद भएको र लुुगा बोकेर घरतर्फ फर्किदै गर्दा पछाडिबाट अभियुक्त सार्कीले हँसिया प्रहार गरेको खुल्न आएको छ । मृतकको बायाँ पाखुरा, टाउको र पछाडि खप्परमा प्रहार गर्दा मृतक सुनार बाटोबाट अन्दाजी २० मिटर तल खरबारीमा घस्रिदै गई घोप्टो अवस्थामा पुुगेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा दुई-तीन पटक प्रहार गरी मोबाइलसमेत लिएर गएको अभियुक्तले प्रहरीलाई बताएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । मृतक सुनारको  शव परीक्षणका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । रासस