• १५ वैशाख २०८१, शनिबार

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

blog

बनियानी (झापा), चैत १६ गते । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् । लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो ।

“भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।” झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चापदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग सङ्कटमा पर्दै गएका बताउनुभयो । “गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ, तयारी बिस्कुट आयातमा २५ प्रतिशत कर लाग्छ”, उहाँले भन्नुभयो, “सरकारको नीति निर्यातमुखीभन्दा पनि आयातमुखी जस्तो देखिएको छ ।” सरकारले स्वदेशी उद्योग टिक्नसक्ने र स्वदेशी उत्पादन बिक्नसक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्लास्थित नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमलीले राज्य सञ्चालनका लागि ठूलो योगदान गरिसकेको उद्योग-व्यवसायको क्षेत्रलाई विशेष प्राथमिकता दिएर सरकारले नीति बनाउनुपर्नेमा जोड दिनुभयो । “विदेशी होइन, स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर उत्पादन गर्न सकिने उद्योग खोल्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यसमा सहयोग गर्न आवश्यक छ ।”

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमप्रकाश सापकोटाले पछिल्लो समय बजार अनुगमन गरेर भारतीय बेकरीजन्य वस्तु नष्ट गरिएको बताउनुभयो । “अनुगमन गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो,” उहाँले भन्नुभयो, “पुनःत्यस्तो समस्या देखिएको छ, अनुगमन गर्छौै ।” बेकरी उद्योगमा दक्ष कामदार (ओभन मास्टर) को अभाव भएको र भारतीय कामदारको भरमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उद्योगी-व्यवसायीले गुनासो गर्दै आएका सापकोटाले बताउनुभयो । 

उहाँले सोको समाधानका लागि कार्यालयले चाँडै ‘ओभन मास्टर’ तालिम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । बेकरी उद्योग सङ्घमा ४७ वटा बेकरी उद्योग आबद्ध छन् । ती उद्योगले पाँच हजारदेखि १० हजार जनालाई प्रत्यक्ष परोक्षरुपमा रोगजारी प्रदान गरिरहेका सङ्घकी सदस्य भीमा शिवाकोटीले जानकारी दिनुभयो । उहाँले निरन्तर कच्चापदार्थको मूल्यवृद्धि भए पनि पुरानै दररेटमा उत्पादित वस्तु बिक्री गरिरहेकाले समस्या भइरहेको बताउनुभयो । 

दक्ष कामदार उपलब्ध हुँदा पनि उनीहरुको मागअनुसारको पारिश्रमिक दिनसक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । भारतबाट अवैधरुपमा आयात हुने बेकरीजन्य वस्तुको नियन्त्रण, दक्ष जनशक्ति उत्पादनका लागि तालिम, स्वदेशी उत्पादनलाई प्रोत्साहन हुनेगरी नीति निर्माण गर्नुपर्ने उनीहरुको माग छ । रासस