• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री जम्कट्टेलले तेस्राे पटक विश्वासको मत लिँदै

blog

बागमती प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउँदै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकाल।तस्बिरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, चैत १६ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुनः विश्वासको मत लिनु हुनेभएको छ।नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट हटेसँगै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट आगामी सोमबार विश्वासको मत लिन लाग्नुभएको हो।

बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र प्राप्त भएको जानकारी दिनुभयो।

उहाँले मुख्यमन्त्री कार्यालयबाट चैत १९ गते विश्वासको मत लिनका लागि पत्र प्राप्त भएको जानकारी दिँदै समय निर्धारण  भइनसकेको बताउनुभयो।

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको यो तेस्राे पटक हो।मुख्यमन्त्री जम्कट्टेलले यसअघि गतवर्ष माघ ३ गते र चैत १० गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रदेश सभाबाट चैत १९ गते मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि  प्रदेश सभा सचिवालयमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले पत्र दर्ता गराउनुभएको हो।

केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको हो।

गत फागुन २३ गते कांग्रेसका छ जना मन्त्रीले सरकारबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।