• १३ साउन २०८१, आइतबार

बाँके कारागार र बाल सुधारगृहको निरीक्षण

blog

बाँके कारागारको अवस्था बारे जानकारी लिँदै संसदीय टोली। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगन्ज, चैत १६ गते। प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वको संसदीय टोलीले बाँके कारगार र बालसुधार गृहको निरिक्षण गरेको छ। 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिनुभएको जानकारी अनुसार कानुन न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदीको नेतृत्वको ६ सदस्यीय संसदीय टोलीले कारागार र बालसुधार गृहको स्थलगत अनुगमन निरीक्षण गरेर त्यहाँको सम्पूर्ण अवस्था बारे जानकारी लिएको हो।

 उहाँले अनुगमनका क्रममा टोलीले कारागार र बाल सुधार गृहको नीतिगत सुधार, भौतिक संरचनाको सुधार र कैदी बन्दीको अधिकार लगायतका विषयमा विशेष चासोका साथ जानकारी लिएको बताउनुभयो। 

अनुगमनका क्रममा बाँके कारागारका जेलर अर्जुनजंग शाहले कारागारको जीर्ण भौतिक संरचना, कैदीबन्दीको स्वास्थ्य अवस्था, क्षमता भन्दा तेब्बर बन्दी राखिँदा भएको समस्या, सरकारद्वारा प्रदान गरिएको रासन, सीप, शिक्षालगायतका विषयमा संसदीय टोलीलाई जानकारी गराउनु भएको थियो। 

जेलर शाहले ३५० कैदीबन्दीको क्षमता रहेको जीर्ण कारगारमा करिब नौ सय कैदी बन्दी राखिनु नै सबैभन्दा ठुलो समस्या भएको बताउनुभयो।

निरीक्षण टोलीमा सभापति सुवेदी, सङ्घीय सांसद चन्द्रबहादुर विश्वकर्मा, ध्रुवबहादुर प्रधान, पूर्णबहादुर घर्ती, सोविता गौतम र उपसचिव अधिराज राई लगायतले अनुगमनका क्रममा विभिन्न जिज्ञासा राख्नुभएको थियो। 

अनुगमन गर्ने क्रममा सांसदले बाँकेको कारगार र बाल सुधार गृहमा देखिएका समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समस्या समाधान गर्ने विषयमा सरकारको ध्यान आकर्षण गराइने प्रतिबद्धता जनाउनुभएको कारागार प्रशासनले जनाएको छ। 

सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरालगायत सुरक्षा अधिकारीको पनि उपस्थिति थियो।