• १५ वैशाख २०८१, शनिबार

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

blog

हाम्रो नेपाली पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्रचार्य।

राममणि दाहाल

हेटौँडा, चैत १५ गते। बागमती प्रदेश सरकार विस्तार हुनेभएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो। 

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्को विस्तार गर्न लागेको जानकारी दिनुभयो। मुख्यमन्त्री जम्कट्टेलले बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय दिएर मन्त्री परिषद् विस्तार गर्न लागेको बताउनुभयो।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि बागमती प्रदेश सरकारमा रहेको नेपाली कांग्रेसले सरकारबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। 

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आउनुभएका मुख्यमन्त्री जम्कट्टेलको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मत लिन बहुमत पुग्ने छ।

बज्राचार्यको पार्टीले दुई दिन अघि मात्र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेश सभामा पठाएको थियो।बज्राचार्यले यसअघि विश्वासको मत फिर्ता लिएको बताउँदै सरकारमा नजाने र मुख्यमन्त्री पाए मात्र सरकारको नेतृत्व परिवर्तन गर्ने बताउनुभएको थियो। हाम्रो नेपाली पार्टीको संसदीय दलका नेता बज्राचार्यले दुई दिने अघि मन्त्रीका लागि सरकारमा नजाने र बार्गेनिङ नगर्ने बताउनुभएको थियो। 

उता हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले आफूहरूको दाबी मुख्यमन्त्रीमा रहेको भन्दै मुख्यमन्त्री नपाएमा सरकारमा नजाने नीति रहेको बताउनुभयो।