• १५ वैशाख २०८१, शनिबार

विपन्नलाई सहुलियतमा एम्बुलेन्स सेवा

blog

शेरबहादुर राई

ओखलढुङ्गा, चैत १५ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाका विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाले ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाको दश लाख ५० हजार आर्थिक सहयोग र गाउँपालिकाको १३ लाख लगानीमा नयाँ एम्बुलेन्स खरिद गरेको हो । 

एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर विपन्न नागरिकलाई सहुलियतमा एम्बुलेन्स सेवा प्रदान गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । गर्भवती, सुत्केरी, अपाङ्गता, असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई कार्य विधि बनाएर सस्तो र सहुलियतमा एम्बुलेन्स सेवा दिइने गाउँपालिका अध्यक्ष रुम्दालीले बताउनुभयो । 

एम्बुलेन्स मानेभञ्ज्याङ स्वास्थ्य चौकीको मातहतमा राखेर सञ्चालन गरिने बताइएको छ । जिल्लाका विभिन्न अस्पताल तथा अन्य स्थानमा जान लैजानका लागि एम्बुलेन्सको भाडा दर निर्धारण गरिने गाउँपालिकाले जनाएको छ ।