• १५ वैशाख २०८१, शनिबार

‘चुनौतीबिच नेपाली क्रिकेट छक्का हानेर निस्कियो’

blog

क्रिकेट खेलाडीलाई बिदाइ गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, चैत १५ गते । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजनीतिक अस्थिरता र अप्ठ्यारोबिच नेपाली क्रिकेट छक्का हानेर बाहिर निस्किएको बताउनुभएको छ । 

भारतको गुजरातमा आयोजना हुने फ्रेन्डसिप कप र ओमानमा हुने एसिसी प्रिमियर कप खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गर्दै मन्त्री श्रेष्ठले पछिल्लो ३० वर्षको राजनीतिक खिचातानीबिच क्रिकेटले आफूलाई फरक रूपमा उभ्याएको बताउनुभयो । 

‘‘नेपाली क्रिकेटले छोटो समयमा ठुलो फड्को मारेको छ । नेपालको राष्ट्रिय एकतालाई मजबुत बनाउने काम क्रिकेट खेलाडीबाट भइरहेको छ । अब क्रिकेटमा खेलाडीको प्रदर्शन क्षमतालाई प्राविधिक रूपमा मापन गर्न आवश्यक छ । खेलकुदमा नीतिगत अप्ठ्यारा धेरै भएकोले मन्त्रालय त्यसको सुधारमा लागेको छ,’’ श्रेष्ठले भन्नुभयो । 

कार्यक्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले खेलाडीले विभिन्न समयमा घोषणा भएको पुरस्कार रकममध्ये ५०/६० प्रतिशत मात्र पाएको र टी–२० विश्वकप आउनै लाग्दा सरकारबाट कुनै खाले प्रोत्साहन तथा पुरस्कारको घोषणा गरिए राम्रो हुने धारणा राख्नुभएको थियो । 

कप्तान पौडेलको भनाइलाई समर्थन गर्दै मन्त्री श्रेष्ठले सबै कुरा नीतिमा अड्किएकोले आफूले तोकेर आश्वासन दिने काम नगर्ने बताउनुभयो । ‘‘हामी ठुलो उपलब्धिको सङ्घारमा छौँ । खेलाडीको प्रदर्शन र नतिजाका आधारमा के गर्ने भन्ने सल्लाह गरेर अगाडि बढ्नेछौँ । तपाईँहरू ध्यान दिएर राम्रो खेल्नुहोस्,’’ मन्त्री श्रेष्ठले भन्नुभयो । 


नेपाली टोली आगामी जुनमा आयोजना हुने टी–२० विश्वकपको तयारीका लागि गुजराज गएको हो । गुजरातमा नेपालले रणजित ट्रफी खेल्ने टोली गुजरात र बरोडासँग फ्रेन्डसिप कप क्रिकेट खेल्नेछ । उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुनेछ ।

नेपालले मार्च ३१ र अप्रिल ३ मा गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । त्यसपछि नेपाली टोलीले एसिसी प्रिमियर कप खेल्नेछ ।

प्रिमियर कप पनि नेपाली टोलीका लागि विश्वकपको तयारीका लागि राम्रो अवसर हुनेछ । नेपाली टोली भर्खर घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको टी–२० सिरिजमा ‘क्लिन स्विप’ गरेर भारत भ्रमणमा निस्किएको हो ।

टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन्।