• १५ वैशाख २०८१, शनिबार

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत १५ गते । तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछाप जिल्लामा हुने भएको छ । रामेछापको पुरानो सदरमुकामसमेत रहेको रामेछाप नगरपालिका–८, रामेछाप बजारमा आगामी वैशाख ६, ७ र ८ गते तीन दिन ग्रामीण चलचित्र महोत्सव हुन लागेको हो । 

महोत्सवको आयोजक संस्था सेलिब्रेटी नेपालले बुधबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले तीन दिन हुने महोत्सवमा २४ वटाभन्दा बढी चलचित्र निःशुल्क प्रदर्शन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा ग्रामीण परिवेशमा बनेका फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र विभिन्न भाषाभाषीका गरी चार वटा क्याटोगोरीका फिल्म देखाइने कार्यक्रम रहेको छ । महोत्सवमा देखाइने सबै चलचित्रका कलाकार पनि आउने र उनीहरूले ग्रामीण भेगका दर्शकसँग साक्षात्कार गर्ने उहाँले बताउनुभयो । 

रामेछापमा चलचित्रको छायाङ्कनका लागि चलचित्रकर्मी बढीभन्दा बढी ल्याउनका लागि सिनेमा पर्यटनलाई जोडेर स्थानीयस्तरको पर्यटन प्रवर्धनको सम्भावना बारेमा संवाद पनि गरिने उहाँले बताउनुभयो ।

पर्यटन प्रवर्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक फिल्म निर्देशक कमल मगरले बताउनुभयो ।  

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सव पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुन्डेबेँसीमा सम्पन्न भएको थियो ।