• १५ वैशाख २०८१, शनिबार

ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा

blog

बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिका कार्यालय । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १४ गते । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बाँकेका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि जिल्लाका ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ । 

बाँकेको राप्ती सोनारी गाउँपालिका –९ ढकेरीस्थित नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सो सेवाको शुभारम्भ गर्दै आयुर्वेद उपचार पद्धति र योग शिक्षाप्रति मानिसको आकर्षण बढ्नु स्वास्थ्यका लागि राम्रो भएको बताउनुभयो । 

नशा च्यापिएका, बाथरोग, मोटोपन घटाउने लगायतको समस्या आयुर्वेद थेरापीबाट समाधान गर्न सकिने आयुर्वेद शाखा प्रमुख अञ्जना थारुले बताउनुभयो । सेवाग्राहीको रोग पहिचान गरी उपचारमा सहजता थप्न पूर्वकर्म तथा पञ्चकर्म थेरापीले ठुलो भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

आयुर्वेद शाखा प्रमुख थारुका अनुसार सो नागरिक आरोग्य सेवा केन्द्रमा ओपिडी सेवा, निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धनका लागि रसायन औषधी वितरण, सुत्केरी महिलालाई लक्षितगरी स्तनपायी सेवा, दुग्धवर्धक र सुरक्षात्मक औषधी वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायतका सेवाहरू प्रवाह गरिनेछ । त्यसैगरी नसर्ने रोगको न्यूनीकरणमा समेत सेवा केन्द्रले सन्देश प्रवाह गर्नेछ । 

चिकित्सा विज्ञानसँगै आयुर्वेद उपचारलाई पनि पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति पनि प्रभावकारी उपाय भएको छ । 

आयुर्वेद थेरापी सेवा शुभारम्भ कार्यक्रममा पालिका उपाध्यक्ष मनिसासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, बाँके आयुर्वेद केन्द्रका प्रमुख डा. गीता रेग्मी, वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. अनिलकुमार थारु, वडा ८ का वडाध्यक्ष शालिकराम डाँगी, वडा ९ का वडा अध्यक्ष सोहनलाल थारु, वडा सदस्य राधिका सुनार, महादेवपुरी स्वास्थ्यचौकीका प्रमुख नवराज शाह, खजुरा आयुर्वेद शाखा प्रमुख किरण खनाललगायत महिला स्वयंसेविका, आमा समूह, महिला समूह, ज्येष्ठ नागरिकहरूको उपस्थिति थियो ।