• १२ साउन २०८१, शनिबार

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको शव भेटियो

blog

बालबालिकाको खोजीमा खटेका स्थानीय र सुनकाेशीमा भेटिएको शव। तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, चैत १४ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा हराइरहेका तीन जना बालबालिकाको शव भेटिएको छ। आइतबार होली खेलेर कोसीमा नुहाउने क्रममा बेपत्ता भएका १२ वर्षीय लोकबहादुर मगर, रेखा मगर र नौ वर्षीय रिदम मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनुभयो। मंगलबार साँझ रिदम र बुधबार लोकबहादुर र रेखाको शव भेटिएको उहाँको भनाइ छ। 

साउनेस्थित माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रेखा, कक्षा ४ मा अध्ययनरत रिदम  र  कक्षा ५ मा अध्ययनरत लोकबहादुर होली खेलेर नुहाउन गएको अवस्थामा आइतबार दिउँसो ३ बजे सुनकोसी नदीमा डुबेर बेपत्ता भएपछि उनीहरूको खोजी भइरहेको थियो। 

चौधरीका अनुसार बालबालिका बेपत्ता भएको स्थानदेखि करिब दुई किलोमिटर तल रिदमको शव बग्दै गरेको अवस्थामा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त वस्नेतसहितको टोलीले मंगलबार साँझ फेला पारेको हो।  रेखा मगर र लोकबहादुर मगरको शव उनीहरू हराएको स्थानभन्दा करिब चार किलोमिटर तल बुधबार भेटिएको हो। 

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गस्थित सुनकोशी नदीमा डुबेका बालबालिका।