• १५ वैशाख २०८१, शनिबार

वरिष्ठ साहित्यकार सुवेदीको निधन

blog

स्वर्गीय दधिराज सुवेदी

विराटनगर, चैत १४ गते । वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 

क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो। उहाँको पार्थिव शरीरलाई बुधबार नै  विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिने उहाँका छोरा तथा गोरखापत्रका सहसम्पादक शरदराज सुवेदीले जानकारी दिनुभयो । 

उहाँको निधनप्रति गहिरो शोक प्रकट गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले फोनमार्फत परिवारका सदस्यलाई समवेदना प्रकट गर्नुभएको छ ।  

साहित्यकार सुवेदीको पार्थिव शरीरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । यसैगरी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश्वर कोइरालाले पनि सुवेदीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

यस्तै, प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल तथा कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेसको चार तारे झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । 

भोजपुरको दिङ्लामा जन्मनु भएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय हुनुहुन्थ्यो ।  उहाँका खोज तथा अनुसन्धानमूलक दर्जनौँ कृति प्रकाशित छन् । पुस्तक लेखन मात्रै होइन उहाँ समालोचना गर्न पनि त्यतिकै जागरूक हुनुहुन्थ्यो ।सुवेदीका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीका समालोचना सङ्ग्रह विश्वविद्यालयहरूमा पढाइ हुने गरेका छन् ।  स्वर्गीय सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।