कविराज घिमिरे
हिले, चैत्र १३ गते। स्थापनाको चार वर्षपछि कोशी प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा पहिलो बैठक बसेको छ। मंगलबार धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका सबै कार्यक्रममा मायाको चिनो र उपहार प्रदेश भित्रको उत्पादन प्रयोग गर्न सरकारी कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको छ।
त्यस्तै धनकुटा, भोजपुर र उदयपुर सिमाना सप्तकोशी नदीमा रहेको खुवालुङलाई धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्ने र धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा महिनाको एकपटक प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिनुभयो।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ साल वैशाख २९ गते धनकुटामा उद्घाटन गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा यसअघिका मुख्यमन्त्रीको पालामा बैठक बस्न सकेको थिएन।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा बसेको प्रदेश लगानी प्राधिकरणको बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन तथा लगानी एक्लो गर्न निर्देशक समिति गठन गर्ने र धनकुटाको साँगुरीगढी गाउँपालिको भेडेटारमा निर्माणाधीन स्काइ वाकको आम्दानी धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकामा बाँडफाँड गर्न दुवै पालिकाको प्रतिनिधि रहेको समिति गठन गर्ने निर्णय गरेको प्रदेश लगानी बोर्डका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिनुभयो।