• १२ साउन २०८१, शनिबार

गृहमन्त्री लामिछानेसँग भारत र कोरियाका राजदूतको शिष्टाचार भेट

blog

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव ।

काठमाडौं, चैत १३ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। 

ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबिच जनस्तरमा रहेको गहिरो, वृहत् र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

खुला सीमाबिच पनि दुई देशका सुरक्षा संयन्त्र प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुवै पक्ष सहमत भएको भन्दै राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो। 

दुई देशका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल गरिने तथा जाजरकोट र रुकुम पश्चिमको पुनः निर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने गृहमन्त्री लामिछानेको भनाइ। 

तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिनुभएको छ। 

सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरण तथा आतङ्कवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको राजदूत श्रीवास्तवले भनाइ राख्नुभएको छ। 

त्यसैगरी मङ्गलबार नै उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङलेसमेत शिष्टाचार भेट गर्नुभएको छ। 

नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औँ वर्षगाँठको उपलक्ष्यमा शुभकामना अदान–प्रदानका लागि भेटवार्ता भएको गृहमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। भेटमा राजदूत ताइयोङले गृहमन्त्रीलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। 


राजदूतले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको सङ्ख्या बढाउँदै लैजाने बताउनुभएको छ। 

दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारीसमेत उहाँले दिनुभएको छ। 

नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउन पनि जोड दिइएको राजदूतको भनाइ। दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट सम्मानजनक काम गर्न अवसर दिएकोमा गृहमन्त्रीबाट धन्यवाद व्यक्त गर्दै कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठुलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गर्नुभएको छ।

दक्षिण कोरियाको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुकरणीय रहेकाले विश्वले नै अनुसरण गर्न सकिने भन्दै मन्त्री लामिछानेले सुशासन र भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टी र आफ्नो उद्देश्य रहेको प्रष्ट पार्नुभएको छ। 

असल मित्र रहेकाले दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ।