• १२ साउन २०८१, शनिबार

ख्यालख्यालैमा पुलबाट हामफाल्दा

blog

बेपत्ता भएका लोकेन्द्र शाहीको खोजीकार्यमा खटिएका सुरक्षाकर्मी । तस्बिर सौजन्य : नवराज खनाल

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत १३ गते । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानी कर्णालीको पुलमा जोखिमपूर्ण कार्य हुन थालेपछि सुरक्षाको आवश्यकता महसुस गर्न थालिएको छ ।

लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले होलीको दिन स्थानीय युवाहरुको समूहले पौडी खेल्ने नाममा ज्यानै जोखिममा पारेर हामफालेको घटनालाई गम्भीररुपमा लिएको बताउनुभयो । उहाँले सबै युवाहरु स्थानीय भएको र नदीमा पौडी खेलिरहने भए पनि त्यसरी अनियन्त्रित रुपमा पुलबाट हामफाल्दा एकजना लोकेन्द्र शाही डुबेर बेपत्ता भएको जनाउनुभयो ।

नगरप्रमुख शाही भन्नुभयो “प्रहरीले रोक्न खोज्दा अटेर गरी गए पनि होलीको दिनमा समूहमा युवा गएपछि सुरक्षाकर्मीले पनि केही कदम चाल्नुपर्ने थियो, पुलको मुखमै प्रहरी तैनाथ थिए  सधैं पौडिने भएर पनि होला । पटक पटक घटना भएपछि हामी संवेदनशील भएका छौं ।” 

नगरप्रमुख शाहीले सोमबारको घटनापछि तुरुन्तै चिसापानी पुलमा सुरक्षाकर्मिको सङ्ख्या बढाउन माग गरेको बताउनुभयो । दुई वर्ष अगाडिसमेत लम्कीका तीन जना  १७÷१८ वर्षका युवाले ख्यालख्यालैमा पुलबाट हामफाल्दा दुईजनाको उद्धार गरिएको थियो भने एकजनाको डुबेर निधन भएको थियो । 

चिसापानी बजारमा तरकारी पसल गरेर परिवारसँग खुशीका साथ जीवन बिताएका लोकेन्द्र शाही साथीभाइसँगको लहलहैमा सोमबार कर्णाली पुलमा हामफाल्दा डुबेर बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । कञ्चनपुर बेलौरीबाट बुवा आमासँगै आएका लोकेन्द्र तीन वर्ष विदेशमा बसेको कमाइलाई नेपालमै केही गर्नुपर्छ भन्दै तरकारी व्यवसाय शुरु गरेको आफन्तको भनाइ छ । 

छिमेकी पार्वती गुरुङले घटनाको दिनलाई स्मरण गर्दै भन्नुभयो “चिसापानी, लम्कीका साथीभाइ आफन्त जम्मा भएर होली खेल्ने, खानपिन गर्ने रमाइलो गर्दै थिए । तीमध्ये धेरै नदीमा पौडिन पोख्त नै हुन् , सबै जोसिएर पुलबाट हामफालेछन् । जिन्सको पाइन्टमै हामफाल्दा, पौडिन मेसो पाएनन् कि पानीमा चोट लाग्यो डुबेकाे डुब्यै भए ।”

सोमबार होलीको दिन साँझपख लोकेन्द्रसहित १७ जनाले पालैपालो हामफाले पनि अरु १६ जना भने सकुशल पौडिएर निस्केका थिए । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले दिउँसो नै मदिरामा लट्ठिएका एकहुल युवा बाटोमा डिजे बजाएर होहल्ला गरेपछि प्रहरीले हटाएको बताउनुभयो । तीनै युवाहरु गाउँतिर गएर दिनभर होली खेलेपछि साँझ पुलबाट हामफालेर कर्णाली नदीमा नुहाउने उद्देश्यमा जाँदै गर्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

उल्टै हामी लोकल हौं फोटो खिच्न जाने हो भन्दै अटेर गरी गएको प्रहरीको भनाइ छ । मङ्गलबार बिहानदेखि नै सशस्त्र प्रहरी, जनपद प्रहरी,स्थानीय युवाहरुको समूहले तीनवटा र्‍याफ्टिङ, डुङ्गा प्रयोग गरेर खोजी जारी राखेको वडा नम्बर ३ का वडाअध्यक्ष लवबहादुर शाहीले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक डाँगीले हामफाली पौडिएर निस्केका युवाहरुलाई खोजी सोधपुछ गर्ने कार्य भैरहेको बताउनुभयो । हामफाल्ने युवाहरु २० देखि ३० वर्षसम्मका रहेको र सबैले कर्णाली नदीमा पौडिने गरेका थिए । 

उहाँले कर्णाली पुललाई सुरक्षाको दृष्टिकोणले निगरानी राख्न आफूले समेत पहल गर्ने बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले होलीको दिनमा जिल्लाको शान्तिसुरक्षा बुझ्न दिनभर आफू फिल्डमै रहेको बताउनुभयो । उहाँले चिसापानीसमेत आफू पुगेको उल्लेख गर्दै भन्नुभयो, “त्यहाँबाट निस्केको एकघण्टामा घटना भएको रहेछ ।” 

नेपालकै नमुनाको रुपमा रहेको चिसापानीको पुल बन्दा सामान्य आवतजावत र तस्बिर लिने हिसाबले बनेकोले निर्माण कम्पनीले अहिलेको जस्तो हामफाल्ने परिकल्पना त्यतिखेर नगरेकोले पनि पुलको संरचनामा केही थप्नुपर्ने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । 

उहाँले बर्दिया जिल्ला, पुल निर्माण विभागसँग समन्वय गरेर पुलमा जाली लगाउने हुन्छ कि अन्य केही उपाय गरेर चाहेर पनि पुलबाट हामफाल्न नमिल्ने बनाउनेतर्फ ध्यान दिने बताउनुभयो ।