भक्तिविलास पोखरेल
गाईघाट, चैत १३ गते । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ गठबन्धन निर्माण भएसँगै मुलुकमा नयाँ खालको राजनीतिक समीकरण प्रारम्भ भएको बताउनुभएको छ ।
उहाँले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनालाई साकार पार्ने महत्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बढ्नु सत्ता साझेदार दलको अहिलेको आवश्यकता भएको बताउनुभयो ।
प्रेस चौतारी नेपाल उदयपुर शाखाले मङ्गलबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो।
नेकपा (एमाले) उदयपुरको ९औं जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ आइपुग्नुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियान बिचैमा अलपत्र भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अब देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने बताउनुभयो ।
यो कुनै वाम गठबन्धन वा समाजवादी मोर्चा गठन नभएर सरकार निर्माणका लागि मात्र विभिन्न शक्तिबिच गठबन्धन भएको स्पष्ट पार्नुहुँदै नेता पोखरेलले २०८४ सालमा हुने आम निर्वाचनमा नेकपा (एमाले) कुनै दलसँगको गठबन्धन नगरी एक्लै चुनावी मैदानमा जाने र बहुमत ल्याएर एकमना सरकार बनाउने गरी अहिले मिसन २०८४ को लागि आफ्नाे सङ्गठन सुदृढीकरण अभियानमा होमिएको बताउनुभयो ।
एउटा गठबन्धन टुटेर अर्काे बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्काे गठबन्धन निर्माण हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।