• ८ वैशाख २०८१, शनिबार

सकियो रङ्गविहीन रङ्गिलो 'होरी' (फाेटाे फिचर)

blog

रङ्गविहिन रङ्गिलो होरी । तस्बिरहरु : शिवराज ढुङ्गाना

शिवराज ढुङ्गाना

अछाम, चैत १२ गते । सेतो कुर्ता, जामा, पगरी र टोपी लाएर गोलो घेराको समूहमा ‘डेउणा’ गाउँदै हरेक बेलुकीपख खेलिने ‘होरी’ सकिएको छ । महाभारत, रामायणलगायत पुराणमा रहेका श्रीकृष्ण, राधा, गोपिनी, राम र सीता भगवानका चरित्रगाथा लय मिलाएर गाउँको खुला ठाउँमा एक हप्ता खेलिएको होरी यो वर्ष सकिएको छ ।  


होरीका देउडाको आवाजमा ढोल, झ्याली र नरसिङ्गाको आवाजले गाउँघरलाई सङ्गीतमय बनाएको होरीको औपचारिक रुपमा एक वर्षका लागि अन्त्य भएको छ । डेउडासँगै जामा, सेता कपडा, मालाले होरीलाई थप रङ्गिलो र रमाइलो बनाउने गरेको अछामको होरीका अगुवा उदयराज ढुङ्गानाको भनाइ छ । होरीका गीतको लयमा पैदल, हात र शरीरका विभिन्न अङ्गको सङ्केतले समेत थप मनोरञ्जन प्रदान गरेको हुन्छ । ‘खलिफा’ (सुरुमा होरीका गीत भन्ने) ले होरीका गीत उठाएसँगै लय मिलाएर सबैले मधुरो स्वरमा गीत गाउँछन् र अरुले गाउँदे खेल्छन् । फागुन शुक्लअष्टमीका दिनबाट पटकानीमा चीर गाडेर हरेक बेलुकी होरी खेलेर फागुन पूर्णिमाका दिन चीरदाह गरेर होरी सक्ने प्रचलन अछाममा छ । 

विदेश वा घर बाहिर रहेकाहरु होरी मनाउनका गाउँघर फर्किने गर्छन् । दिउँसो आफ्नो काम गरेर बेलुखीपख सबै उमेर समूहका व्यक्ति होरी हेरेर राती घर फर्कने गर्छन् । प्रह्लादलाई मार्नका लागि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई पठाएको र प्रह्लादलाई मार्ने प्रपञ्चमा होलिकाको नै अन्त्य भएको खुसियालीमा होरी खेल्ने चलन सुरु गरिएको शास्त्रीय भनाइ छ । सामाजिक सद्भावसँगै चेतनामूलक, धार्मिक र रीतिरिवाजको जगेर्नाको प्रतीक होरी रहेको अछामी होरीका जानकार कर्णबहादुर केसीको भनाइ छ ।

अछाममा होरीको प्रारम्भका बारेमा लिखित इतिहास नभए पनि अछामका राजा भान शाहको ससुराली कुमाउ, गढवाल भएका कारण उतैबाट वि.सं १७५० तिर होरी खेल्ने अछाममा भित्रिएको अछामका केही जानकारहरुको भनाइ रहेको छ । बसाइसराइसँगै कैलालीको धनगढी र टीकापुर, नेपालगञ्ज र काठमाडाैंमा समेत अछामवासीहरु त्यता पनि होरी खेलिने गरेको छ । पछिल्लो पुस्तामा भने होरी खेल्नेभन्दा पनि रङ्ग खेल्ने प्रचलन बढ्दो छ ।