• २३ वैशाख २०८१, आइतबार

चर्चित नेपाली फागु गीत

blog

काठमाडौँ, चैत ११ गते । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने पर्व फागुका गीतमा रङसँग प्रेम झल्किने गरेको छ । यस दिन एकआपसको तिक्ततालाई हटाउँदै रङ छ्यापाछ्याप गरेर खुसी साटासाट गर्ने गरिन्छ । यसै पर्वलाई लक्षित गर्दै नेपाली चलचित्रमा विभिन्न कालखण्डमा गीत तयार भएका छन् । जसलाई रङ्गप्रेमीले प्रत्येक वर्ष सम्झिने गरेका छन् । रङको पर्व होलीमा बजाइने गीतको बेग्लै महत्व छ । 

होलीले मेरो रङ्गायो नयाँ चोली

चलचित्र ‘अधिकार’ को ‘होलीले मेरो रङ्गायो नयाँ चोली’ फागुमा धेरै सुनिने गीतमा पर्छ । गीतमा शब्द किरण खरेलले लेख्नुभएको हो भने उदितनारायण झा, दीपा नारायण झा, प्रकाश श्रेष्ठ, पूर्णिमा श्रेष्ठको स्वर रहेको छ । गीतमा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मालगायतको अभिनय रहेको छ । यो गीत निकै लोकप्रिय मानिन्छ । 

फागु हो फागु

फागु लागेपछि सबैले सुन्ने अर्को गीत हो ‘फागु हो फागु’ । नीर शाह निर्देशित फिल्म ‘वसन्ती’ मा समावेश यो गीतको शाह आफैँले लेख्नुभएको हो भने सङ्गीत शम्भुजित बाँस्कोटाले दिनुभएको छ । गीतमा निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ ।  

‘जनकपुरमे होली हे’

फागुका गीत दुई दशक पुराना भए पनि अझै पनि कर्णप्रिय छन् । यस्तै गीतमा पर्छ ‘जनकपुरमे होली हे’ । चलचित्र सीतामा समावेश गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत दिनुभएको छ । अशोक शर्माले निर्देशन गर्नुभएको चलचित्रको गीतमा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारङ्गा श्रेष्ठ देखिनुभएको छ । 

‘होरीमे गोरी’ 

चलचित्र ‘संरक्षण’ को ‘होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा निकै बज्ने गर्छ । गीतले तराईमा होली मनाइरहेको दृश्यलाई समेटेको छ । पूर्णेन्द्र झा निर्देशित चलचित्रको गीतमा शब्द भोजपुरीमा छ । गीतमा नेहा प्रियादर्शन र प्रवेश मल्लिकको आवाज रहेको छ भने धीरेन्द्र प्रेमर्षिको शब्द र प्रवेश मल्लिकको सङ्गीत रहेको छ । गीतमा सौगात मल्ल, मलिना जोशी र अशिष्मा नकर्मी देखिनुभएको छ ।